काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।
नेकपाको सचिवालय बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप भएको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ भने प्रदेश २ को प्रहरी ऐन विवादमा परेको विषयलाई नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
यस्तै आजकै कान्तिपुरले सनसनी बलर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा छनोट भएको खबर लेखेको छ भने नयाँ पत्रिकाले भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निमाण हुन नसकेको खबर छापेको छ । भारतले पुर्ननिर्माण जिम्मा लिएका विद्यालयहरुको काम शून्य रहेको समाचारमा उल्लेख छ ।
प्रदेशका गुनासै गुनासा शीर्षकमा अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार छापेको छ भने नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल भित्र्याउन लागेको विषयलाई विशेष महत्व दिएर प्रकाशित गरेको छ ।
आजको नागरिक दैनिकले भने सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका– २ मा रहेको ३९ बिघा जग्गा हडप्न चलखेल भएको विषय र प्रदेश २ का कानुनमन्त्रीले संघीय सरकारले अप्ठेरो पारे नसहने चेतावनी दिएको खबरलाई मुख्य समाचार बनाएको छ । प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ३ महिना भित्र संघीय सरकारले प्रहरी ऐन ल्याएर कार्यान्व्यन नगरे प्रदेश प्रहरी ऐन कार्यान्व्यन गर्ने धम्की दिएको समाचारमा उल्लेख छ ।
यस्तै आजको नागरिक दैनिकले राष्ट्रपतिले राजसी शैलीमा टिका लगाइ दिएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । उसले यसै विषयलाई उठान गर्दै सामन्ती संस्कार शीर्षकमा सम्पादकीय समेत लेखेको छ ।
प्रदेशका गुनासै गुनासा
आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबरअनुसार अन्तर प्रदेश परिषद् बैठक बस्न नसक्दा प्रदेश र संघबीच विवाद बढ्दै गएको छ।
संघीय सरकारले अधिकार हस्तान्तरण गर्न नखोजेको भन्दै सातै प्रदेशले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्रीहरूले माग गर्दा पनि परिषद् बैठक नडाकिएको हो।
संविधानले दिएका अधिकार हस्तान्तरण गर्न र आवश्यक कानुन निर्माणमा पनि संघले ढिलासुस्ती गरेको मुख्यमन्त्रीहरूको गुनासो छ। ‘हामीलाई काम गर्न निकै असजिलो छ। प्रदेश नयाँ संरचना भएकाले शून्यबाट काम गर्नुपर्ने छ,’ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भने, ‘यसका लागि आवश्यक कानुन बनाउनुपर्छ। यो संघले नबनाई हुँदैन।’
प्रदेश सरकार गठन भएको आठ महिना बितिसकेको छ। अहिलेसम्म एउटा पनि बैठक बसेको छैन। प्रदेश र संघबीचका राजनीतिक विवाद समाधान गर्न र आपसी समन्वयका लागि परिषद् बस्नुपर्ने हुन्छ।
अन्तर प्रदेश परिषद् बैठक भए प्रदेशका समस्या राख्न सजिलो हुने मुख्यमन्त्री राईले बताए। ‘परिषद् बैठक बोलाउन ढिलो गर्नै हुन्थेन। यो निकै आवश्यक छ, हामीले हाम्रा समस्या राख्ने र त्यसको समाधान खोज्न पनि बैठक बोलाउनुपर्छ’, राईले भने।
कर्मचारी अभाव रहेको र संविधानले निर्देशित गरेको साझा अधिकारका सूचीअनुसार संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहेको आरोप प्रदेश सरकारको छ। संघको असहयोगका कारण प्रदेश सरकार भूमिकाविहीन भएको मुख्यमन्त्रीहरूको आरोप छ।
बिग बासमा सन्दीप
आजको कान्तिपुरमा प्रकाशित खबरअनुसार नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।
(काठमाडौं)-नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।
१८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा यसअघि नै अनुबन्धित भइसकेकाले उनी सिलेट सिक्सर्सबाट बीपीएल खेल्न जनवरी १५ मा बंगलादेश आउनेछन् । बीपीएल सकिएपछि उनी फेरि बिग बासका लागि अस्ट्रेलिया फर्कनेछन् ।
राष्ट्रपतिको राजसी टीका
आजको नागरिक दैनिकमा प्रकाशित खबरअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।
नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रकनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका छन् ।
उनले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ! !’ पूर्वप्रधानन्यायाधीश पराजुलीले नै दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।
थापाले अगाडि लेखेका छन्, ‘चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव ! ! ! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४