काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सोमबारको हाइकमाण्ड बैठकले तीन वटा निर्णय गर्दै सम्पन्न भएको छ। आइतबारबाट सुरु भएको बैठक सोमबार तीनवटा निर्णय गर्दै सकिएको नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बैठकमा यसअघि श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकृत गरेको छ। त्यसैगरी पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले यसअघि राखेको लिखित असहमतिपत्रमाथि छलफल गर्दै पूर्ववत निर्णयहरुलार्इ नै निरन्तरता दिने निर्णय गरेको हो। त्यस्तै बैठकका अन्य एजेन्डामा छलफल गर्न आगामी ७ कार्तिकमा पुन बैठक बस्ने निर्णय गरेको हो।
यसअघि वरिष्ठ नेता नेपालले प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका थिए।
नेपालको असहमतिपत्रबारे गम्भीर छलफलगरी आगामी दिनमा त्यस्तो गम्भीर त्रुटी नगर्ने, यी कुरा नदोहोर्याउने सहमतिमा पहिलेकै निर्णय कार्यान्वयन गर्ने जनाएको हो।
आइतबार बसेको बैठकले पार्टीका नेता बामदेव गौतमको सांसद बन्ने सपनामा पूर्णविराम लगाएको थियो। बैठकले काठमाडौं-७ का रामवीर मानन्धरले पेस गरेको संघीय सांसद पदको राजिनामा प्रस्ताव अस्वीकार गर्दै बामदेवको सांसद सपनामा पूर्णविराम लगाएको थियो।
यसअघि असोज २४ र २७ मा बस्ने भनिएको बैठक पार्टीको आन्तरिक विवाद र नेपालीको महान चाड दशैं भएकोले ४ कार्तिकमा शुरु भएको थियो।
पार्टीका प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनका विषयमा छलफल तथा सरकार र पार्टी सञ्चालनका विषयमा आगामी ७ गतेको बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४