जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको मुजेलियाभन्दा पश्चिम १७ वर्षअघि निर्माण शुरु गरिएको चिकित्सा शिक्षा शिक्षण अस्पताल निर्माणस्थल अहिले वनभोजस्थलमा परिणत भएको छ। अस्पतालको निर्माण कार्य अघि बढ्न नसक्दा अहिले त्यो क्षेत्र वनभोज गर्ने स्थल बनेको हो।
शिक्षा क्षेत्रमा ख्याती कमाउन सफल भारतको मणिपाल समूहले जनकपुरधाम उपमहानगरापालिका-१३ धत्ताटोलमा शिक्षण अस्पताल निर्माण गर्न गुठी संस्थान जनकपुरसँग लिजमा जग्गा लिएको थियो। तर, मणिपाल समूहले निर्माण कार्य बीचमै छोडेपछि निर्माण गरिएका संरचनासमेत ध्वस्त हुन थालेका छन्।
निर्माण कार्य अलपत्र परेपछि जनकपुर शहरभन्दा उत्तर एकान्तमा रहेको त्यो स्थान अहिले वनभोज गर्नेहरुका लागि प्राथमिकतामा पर्न थालेको छ। जनकपुर शहरभन्दा उत्तर एकान्तमा रहेको अस्पताल निर्माणस्थल परिसरभित्र विभिन्न अवसरहरुमा वनभोज गर्नेहरुको भिड लाग्ने गरेको छ। नयाँ वर्षका साथै अन्य समयमा समेत शहरको कोलाहलभन्दा पर रहेको शिक्षण अस्पताल निर्माणास्थल वनभोजका लागि धेरैको रोजाइमा पर्ने गरेको छ।
तर, जनकपुरमै पहिलो पटक शिक्षण अस्पताल निर्माण गर्ने जमर्को पुरा नभएपछि धेरैको मन खिन्न पनि भएको छ। निर्माण भएर सञ्चालन भएको भए अहिलेको प्रदेश २ को संभवतः पहिलो शिक्षण अस्पताल हुने थियो, जनकपुरस्थित मणिपाल अस्पताल। मणिपाल अस्पताल निर्माण भएर सञ्चालनमा आउन नसकेपछि जनकपुरभन्दा ६-७ किलोमिटर उत्तर रमदैया भवाडीमा जानकी मेडिकल कलेजको स्थापना गरियो। तर व्यवस्थापकीय कमजोरीका कारण त्यसको सञ्चालनमा पनि समस्या देखिएको छ।
मणिपाल समूहले २०५१ साउन ७ गते गुठी संस्थान जनकपुरसँग सम्झौता गरेर ४९ वर्षका लागि अस्पताल निर्माण गर्न १७ बिघा जग्गा लिजमा लिएको थियो। गुठी संस्थानलाई पहिलो वर्ष ७ लाख र त्यसपछि हरेक वर्ष १० प्रतिशत रकम थपेर मणिपाल समूले तिर्नुपर्ने सम्झौता छ।
मणिपाल समूहले जग्गा लिजमा लिई निर्माण कार्य थालेपनि पुरा किन गर्न नसकेको भन्दै स्पष्ट कारण केहि भनेको छैन्। तर कतिपयले माओवादी द्धन्द्धको बेला चन्दा समस्या र तत्कालीन स्वास्थ्यमन्त्री डा रामवरण यादवले इच्छा नदेखाएकै कारण शिक्षण अस्पताल बन्न नसकेको तर्क दिने गरेका छन्।
यसैगरी अस्पताल निर्माण भए आफ्नो व्यवसाय नै धरापमा पर्न सक्ने भन्दै जनकपुरका केही चिकित्सकहरुले आन्तरिक रुपमा अवरोध उत्पन्न गरेको कतिपयको भनाइ छ। यद्यपी यसको आधिकारिक पुष्टी सम्बन्धित पक्षले गर्न सकेको छैन्। २५० शैय्याको शिक्षण अस्पतालको शिलान्यास तत्कालीन स्वास्थ्यमन्त्री तथा पूर्व राष्ट्रपति डा यादवले गरेका थिए।
मणिपाल समूहले निर्माण कार्यअघि नबढाउँदा गुठी संस्थानले जग्गासम्बन्धी सम्झौता रद्द गर्ने तयारीसमेत गरेको थियो। उसले २०७१ वैशाख १९ मा सम्झौता रद्द गर्न पत्र पठाएपनि कार्यान्वयनमा आउन सकेको छैन्। सम्झौता अनुसार उद्देश्य अनुरुप काम नगरे र समयमा भाडा नबुझाएको खण्डमा सम्झौता रद्द गर्ने प्रावधान छ। तर मणिपाल समूहले सम्झौता अनुसार जग्गा भाडा अझै बुझाउँदै आएको गुठी संस्थान जनकपुरका प्रमुख मनोज शर्माले जानकारी दिए।
निर्माण कार्य पुरा नभएर सञ्चालनमा आउन नसक्दा करोडौंको संरचना प्रयोगविहीन भएको छ। नगर क्षेत्रभन्दा टाढा अस्पतालका लागि निर्माण गरिएका संरचना अहिले खण्डहर बन्न पुगेको छ। टायल्स, मार्बल प्रयोग गरी निर्माण गरिएको भवन प्रयोगविहीन भएपछि झ्याल, ढोका कुहिन थालेको छ।
निर्माण गरिएका संरचना रेखदेख गर्न मणिपाल समूहले चारजना सुरक्षा गार्ड नियुक्त गरेको छ। अस्पताल सञ्चालनमा आउन नसकेपछि करोडौं मूल्य बराबरको संरचना नष्ट हुनुका साथै अहिले वनभोजस्थलको रुपमा परिणत भएको सुरक्षा गार्ड योगेन्द्र कार्कीले बताए।
जनकपुरमै सुविधा सम्पन्न अस्पताल नरहेको अवस्थामा यो अस्पताल निर्माण हुँदा यहाँका स्थानीयलाई उपचारका लागि भारत तथा अन्य शहर पुग्नुपर्ने बाध्यता अन्त्य हुन्थ्यो, स्थानीय मनोहर मण्डलले बताए। जनकपुरमै पहिलो पटक निर्माण थालिएको शिक्षण अस्पतालको निर्माण कार्य रुकेपनि सम्बन्धित सरोकारवालाहरुले चासो देखाउन सकेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४