कोशी अस्पताल विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन्। सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले ती बच्चा जन्माएकी हुन्।
छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलो रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छातीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलगअलग छन्। अस्पतालले पहिलो पटक शरीर जोडिएको शिशु जन्मिएको जनाएको छ। बिहीबार शल्यक्रिया गरेर शिशु निकालिएको थियो। अस्पतालका अनुसार सुत्केरी महिला अस्पतालमा एक्लै छिन्।
महिलाले आफ्नो घर-ठेगाना प्रष्टसँग बताउन सकेकी छैनन्। परिवारका सदस्य कोही पनि हेरचाहका लागि आएका छैनन्। आफन्त नआएका कारण सुत्केरीको हेरचाहमा समस्या भएको अस्पतालले बताएको छ।
सुत्केरीको खानपानको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ। वैशाख २१ गते एक महिलाले उनलाई कोशी अस्पताल ल्याएर छाडेकी थिइन्। त्यसयता उनका आफन्त अस्पताल आएका छैनन्।