विराटनगर- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनताले दिएको दुर्इ तिहाइ बहुमत खेर नफाल्न सरकारलार्इ सुझाव दिएका छन्।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै निधिले भने, 'जनताले दुर्इ तिहाइको बहुमत दिएका छन्। यो सामान्य कुरा होइन। तर, सत्ता पक्षले यसलार्इ सम्मान गर्न सकेको छैन। यो महत्वपूर्ण अवसरलार्इ खेर फाल्दै छ।
उनले सरकारले जनताको पक्षमा प्रभावकारि काम गर्न नसकेको आरोपसमेत लगाएका छन्। नेता निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए। उनले भने, 'नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन।'
'कांग्रेस अहिले पनि बलियो छ'
कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन्। उनले जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिएका हुन्। उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयकोस्थिति भोग्नुपरेको चर्चा गर्दै पार्टीको पराजय नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए।
सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे।
उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन गरिनुपर्ने बताए। नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न कांग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४