काठमाडौं– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर कांग्रेस, एमाले र माओवादीका नेताहरूले अर्बाैं, करोडौं रकम लिएको घटना सार्वजनिक भएपछि सरकार विस्तारै रक्षात्मक बन्न थालेको छ।
जनप्रतिनिधि थलो प्रतिनिधिसभामा नक्कली शरणार्थी प्रकरणमा सहभागी तीन वटै पार्टीका नेताहरूलाई कारबाही गरिनुपर्ने आवाज उठिरहेको हो।
सत्तारुढ कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेका नेता जोडिने गरी सार्वजनिक भइरहेका नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताहरूको भूमिकाबारे सांसदहरूले प्रश्न उठाएका हुन्।
मंगलबारको संसद् बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले फिल्म देखाउन लागेको भन्दै व्यंग्य गरे।
उनले कांग्रेस, एमाले र माओवादी नेताहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धा चलाएकै कारण करोडौं ठगी प्रकरणमा उनीहरूको नाम जोडिएको दाबी गरे।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा जोसुकैलाई कारबाही गरिने भने पनि घटनालाई गुपचुप पार्ने प्रयास भइरहेको दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले यो प्रकरणमा अब फिल्म देखाउँछु भन्नुभएको थियो। अहिले प्रधानमन्त्री प्रचण्ड, केपी ओली र देउवाजीको मिटिङ बसिरहेको छ। त्यो मिटिङले प्रचण्डले भनेझैं फिल्म देखाउन बसेको हो?’