सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलले सोधे- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ?

राष्ट्रपति पौडेलले सोधे- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ भनी कानूनविद्हरूसँग छलफल र परामर्श गरेका छन्।
 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ भनी कानूनविद्हरूसँग छलफल र परामर्श गरेका छन्।

National life

राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा आइतबारदेखि कानूनविद्हरूसँग छलफल प्रारम्भ गरेका हुन्। आज उनले नेपाल बार एसोसिएसनका पदाधिकारीसँग दुई/दुईपटक सार्वभौम संसद्ले पारित गरेर आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन भनी जिज्ञासा राखेका थिए।

साथै उनले यदि त्यसरी मिल्ने हो भने त्यसको संवैधानिक व्यवस्था के हो, ब्युँताउने हो भने त्यसको संवैधानिक व्यवस्था के हो भनी सुझाव मागेको राष्ट्रपतिलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

‘प्रमाणीकरण नभई रहेबसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार क्रियाशील हुन्छ?’, राष्ट्रपति पौडेलले कानूनविद्हरूसँग सोधे, ‘यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्थाअन्तर्गत गर्न पाइने हो?’

यदि संविधानमा कुनै कुरा स्पष्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार के के गर्दा हुने हो, दुई/दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो भनी उहाँले जिज्ञासा राखेका थिए।

विधेयक पद्धति र प्रक्रियाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको मर्जी र खुसी हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ भन्ने उनको जिज्ञासा थियो। राज्य व्यवस्थाको अवस्था र स्थिति के हुन्छ र यसमा संवैधानिक बाटो के हो खुलाउन आग्रह गर्दै राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणमा कार्यपालिकाले विधेयक संसद्मा पेस गरिसकेपछि यो बेला संसद्को विशेषाधिकार के हुन्छ भनी सुझाव माग्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए।

छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको वीरगञ्ज सम्मेलनको घोषणापत्रमा विधेयक प्रमाणीकरण गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हुँदा व्यापक छलफल गरी राष्ट्रपतिलाई सुझाउने बताएका थिए।  

यसैगरी, सर्वाेच्च बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले भने यस विधेयकको अस्तित्व नभएको र विधेयक मरिसकेको भनी सुझाएका थिए। विधेयकका रूपमा संसद्बाट आएको खण्डमा मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने उनको भनाइ थियो।  

अध्यक्ष निरौलाको भनाइका सम्बन्धमा राष्ट्रपति पौडेलले सार्वभौम संसद्ले दुई/दुईपटक पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दैमा विधेयक मर्छ भन्ने व्यवस्था कहाँ छ भनी जिसाज्ञा राख्नुभएको थियो। साथै उनले संसद्ले पारित गरी पठाएको विधेयक राष्ट्रपतिलाई मार्ने अधिकार कहाँ छ र राज्यका तीन अङ्गको आफ्नै अधिकार हुने तथा एक अङ्गको अधिकार अर्काे अङ्गको अधिकार हनन गर्ने व्यवस्था कहाँ छ भनी जिज्ञासा राखेका थिए।

यसअघि नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमा भएका कमी कमजोरी औँल्याउँदै २०७९ साल साउन २९ गते विधेयक संसद्मै फिर्ता पठाएकी थिइन्।

त्यसपछि पुनः दुवै सदनबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि गत भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो। तर राष्ट्रपति भण्डारीले त्यो विधेयक प्रमाणीकरण गरिनन्।

प्रकाशित: May 08, 2023| 20:32 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्