सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्चको आदेशले अन्योल: ढाकाकुमार संसद् फर्किन नपाउने, विन्दवासिनीले शपथ लिन नमिल्ने

सर्वोच्चको आदेशले अन्योल: ढाकाकुमार संसद् फर्किन नपाउने, विन्दवासिनीले शपथ लिन नमिल्ने

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला निर्वाचन आयोगले विन्दवासिनी कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिएपछि अन्योल बढेको छ।

National life

श्रेष्ठको रिट निवेदनमा सर्वोच्चले सोमबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशले विन्दवासिनी कंसाकारको शपथ ग्रहण रोकिएको छ।

श्रेष्ठले आफूलाई कारबाही गरी सांसद र पार्टी सदस्यबाट पदमुक्त गर्ने रास्वपाको निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदनमाथि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको छ। एकल इजलासले जेठ ५ गतेसम्म कंसाकारलाई श्रेष्ठको ठाउँमा प्रतिस्थापन गर्ने रास्वपाको निर्णय जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्न भनेको हो।

श्रेष्ठमाथि गरिएको कारबाहीले पूर्णता नपाउँदै रास्वपाले समानुपातिकमा ढाकापछिको सूचीमा रहेकी कंसाकारलाई चैत २९ गते सांसद पदमा मनोनित गर्ने निर्णय गरेको थियो।

रास्वपाको औपचारिक पत्रका आधारमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठलाई पदमुक्त गरिसकेका छन्। ढाकाकुमार सांसद पदमा पुनःस्थापित हुन सर्वोच्चले उनलाई रास्वपाले गरेको कारबाहीको सम्पूर्ण प्रक्रिया नै बदर गर्नुपर्ने हुन्छ।

त्यसैमाथि न्यायिक परीक्षण गर्न सर्वोच्चले जेठ ५ गते रिटका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
अल्पकालीन अन्तरिम आदेश जारी भए पनि श्रेष्ठ संसद् जान भने पाउँदैनन्। उता ढाकाको ठाउँमा कंसाकारलाई सांसद बनाउने प्रक्रियाले पनि पूर्णता पाइसकेको छैन। उनले आयोगबाट सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र पाए पनि शपथ ग्रहण गर्न अदालतको आदेशले रोकेको छ। शपथ ग्रहण नगरी संसद् बैठकमा भाग लिन पाइँदैन। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘…विन्दवासिनी कंसाकारलाई स्थापित गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिति २०७९/१२/२९ मा भएको निर्णय र सोसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वयन नगरी जे जस्तो अवस्थामा छ सोही अवस्थाामा यथास्थितिमा राख्नु भनि सर्वोच्च अदालतका नियमावली २०७४ को नियम ४९ (२) को खण्ड (क) बमोजिम विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकामाथि कारबाही गरेको थियो। उक्त निर्णय भएकै दिन श्रेष्ठलाई सांसदबाट हटाएपछिको रिक्त स्थानमा समानुपातिक सूचीकी कंसाकारलाई सिफारिस गर्ने पनि निर्णय गरेको थियो।

स्वतन्त्र पार्टीको निर्णयबमोजिम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद नरहेको सूचना सभालाई जानकारी गराएका थिए। त्यसपछि निर्वाचन आयोगले रिक्त पदमा कंसाकार निर्वाचित भएको भन्दै प्रमाणपत्र दिएको हो।

प्रकाशित: May 08, 2023| 18:09 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्