जनकपुर- ट्रयाक्टरको ठक्करबाट जनकपुरमा एक युवकको ज्यान गएको छ । सोमबार बिहान जनकपुर महेन्द्रनगर सडक खण्डमा ट्रयाक्टरले ठक्कर दिँदा स्कुटीमा सवार जनकपुरधाम उपमहानगरपालिका– १० बस्ने ३२ वर्षीय सन्दिप नायकको मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने स्कुटी चालक राकेश साह घाइते भएका छन्। ज ९ प ६१३३ नम्बरको स्कुटी चढेर मासु किन्न मुजेलियातर्फ गइरहेको बेला विपरित दिशाबाट आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सन्दीपलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते राकेशको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४