काठमाडौं- नेपाली कांग्रेसका 'युवा नेता' गगन थापाले जे बोल्छन्, लेख्छन् त्यो समाचारको हेडलाइन बनिहाल्छ। उनले गरेका ट्विट र फेसबुक स्टाटस पनि समाचारका खुराक नै हुन्। गगनको बिरलै ट्विट वा स्टाटस होला समाचार नबनेको।
त्यसो त कांग्रेस महामन्त्रीसमेत रहेका गगनको सामाजिक सञ्जाल आफैंमा एउटा मिडिया हो किनकी उनका लाखौं फलोअर छन् सोसल मिडियामा। उनले जे लेखे पनि त्यो केही सेकेन्डमै लाखौंको पहुँचमा पुग्छ।
आइतबार साँझ गगनले फेसबुक र ट्विटरमा लेखेको कुरा अरुबेलाभन्दा केही फरक थियो। उनका यसअघिका ट्विटहरुको भाषाशैलीसँग मेल नखाने थियो, जसमा केही निराशा र आक्रोश छ।
‘तर हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ थापाले लेखेका छन्।
थापाले कुन सन्दर्भमा यस्तो भनेका हुन् भनेर खुलाएका छैनन् तर यसले कांग्रेस पार्टीभित्र र बाहिर समेत एउटा तरंग ल्याएको छ। साथै सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। आज बिहानसम्म गगनको स्टाटसमा झन्डै सात हजार कमेन्ट आएका छन् भने ट्विटमा ६ सयभन्दा बढी रिप्लाइ र सोही संख्यामा रिट्विट भएका छन्।
कतिपयले गगनलाई पार्टी छाडेर नयाँ पार्टीमा हामफाल्न वा नयाँ पार्टी खोल्न समेत सुझाव दिएका छन् भने कतिपयले पार्टीभित्रै संघर्ष गर्न भनेका छन्। कतिपयले विचराको शैलीमा कटाक्ष पनि गरेका छन्।
ट्विटमा पहिलो रिप्लाइ गर्दै डा. रामेश कोइराला लेख्छन्- किन आत्तिने हउ? आफ्नो पालामा ठूलो दल आउनुभन्दा गोजीमा अट्ने दल आए सम्हाल्न झन् सजिलो हुन्छ के। अर्कोपटक समानुपातिकको एक नम्बरमा बस्नु है।
जैनेन्द्र जीवनको सुझाव छ-
तपाईंले सही निर्णय लिनु, राम्रो काम गर्नुहोला भन्ने आसा/भरोसा आमजनका र काङ्ग्रेसका शुभचिन्तकका छन् भने त्यै कुराको डर प्रतिपक्षी दल र पार्टीकै पनि केहीका छन्। सबै pros n cons विचारेर गर्नुहुने र दीर्घकालमा पार्टीको हितमा हुने जुनसुकै कार्य/निर्णयमा पार्टी पंक्ति र आमजनको समर्थन रहनेछ।
सुमन अधिकारीले भनेका छन्-
अति अति नै भयो। कहिले नचेत्ने। स्वार्थ सत्ता मात्र। अनि कसरी पार्टी उँभो लाग्छ।
सन्तोष भण्डारीको सुझाव छ-
अर्को लोकतान्त्रिक दल खोल्नुस्, तपाईंमा विश्वास गर्ने ठुलो जमात छ। केही गरुँ भन्ने हुटहुटि भएको बेला काम गर्न नपाए कहिले गर्नुहुन्छ? जनतालाई पनि अप्सन हुन्छ, लोकतान्त्रिक दलको। हिम्मत गर्नुस्।
अमिगो नामक प्रयोगकर्ताले भनेका छन्-
जय घण्टी भन्नुसु। ठ्याक्कै तपाईंले परिकल्पना गर्नु भएझैँ छ घण्टी पार्टी।
निश्चलले भनेका छन्-
अब पनि बिद्रोह नगरी मौन रही नेतृत्वलाई मनोमानी गर्न दिने हो भने हामी नेपाली कांग्रेस आफ्नो पार्टी मानी गर्व सक्ने स्थिति नरहला।
नेपालका हिमाल, पहाड, तराईका जनता समेट्ने नीतिका साथ अघि बढौं। नेपाली जनताले गगन, विश्वप्रकाश र प्रदीपहरुको पुस्तामा अझै आशा मारेका छैनन्।
ट्विटको पृष्ठभूमि
कांग्रेस सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा गत साता पदाधिकारी बैठक बसेको थियो। बैठकमा देउवाले पोहोर वैशाखको स्थानीय चुनावदेखि गत मंसिरको आम चुनाव अनि केही साताअघिको उपचुनावमा प्राप्त नतिजाबारे आफ्नो बुझाइ बैठकमा सुनाए र कांग्रेसलाई जगाउनुपर्नेमा जोड दिए। तर कसरी जगाउने भनेर ठोस कार्ययोजना दिएनन्। बरु उनले भ्रातृ संस्थाहरुमा रिक्त पद पूर्ति गरिहाल्न दुई महामन्त्री र मुख्य सचिवलाई कार्ययोजना बनाउन लगाए।
सभापति बोलिसक्ने बित्तिकै महामन्त्री थापा कड्किए, ‘पार्टीमा सर्वेसर्वा हुनुभएको छ, सबै निर्णय एकलौटी गर्नुहुन्छ। केन्द्रीय सदस्यहरु एक्लै थप्नुभयो। भ्रातृ संगठनहरुमा सभापति पनि आफैं छान्नुभयो। अरु पदमा हामी किन? त्यो पनि आफैं गरिहाल्नुस्।’
थापाले अहिलेसम्म पार्टीलाई नीति, पद्धति बेगर हिँडाएको जिम्मेवारी देउवाले लिनुपर्ने बताएका थिए। महामन्त्रीका रुपमा कार्यकर्ताले निर्वाचित गराए पनि पार्टीमा आफूलाई भूमिकाविहीन बनाएको भन्दै उनले सभापतिलाई के गर्न खोजेको भनेर प्रश्न गरेका थिए। जवाफमा देउवाले भनेका थिए- अब तपार्इं पनि नेता भइसक्नुभयो यार। के गर्ने हो प्लान गर्नुस्।
गगनले ट्विट गरेकै दिन आइतबार मन्त्रिपरिषद् विस्तार भयो। अघिल्लो साता र हिजो गरी नवौं र दसौंपल्ट विस्तारित मन्त्रिपरिषद्मा पनि गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको चाहना प्रकट हुन पाएन। देउवाले कि त आफ्ना, कि त शेखर कोइराला पक्षका मान्छेहरुलाई नै महत्व दिँदा आफू छायामा परेको थापाले अनुभूत गरे।
पछिल्लो समय देउवाले शेखर कोइरालालाई प्रयोग गरिरहेको र त्यसैका आधारमा पार्टीभित्र एकलौटी गरिरहेको थापाको बुझाइ छ। पार्टीमा आफूले बनाएका कुनै पनि योजनालाई अघि बढ्न नदिएको र सबैखाले नियुक्तिमा कुनै परामर्श नगरेको भन्दै थापाले असन्तुष्टि जनाइरहेका छन्। त्यही असन्तुष्टि केही अमूर्त र केही सांकेतिक रुपमा सामाजिक सञ्जालमा पोखिएको हो।