सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको विश्वास जगाउने पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

जनताको विश्वास जगाउने पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवं सम्मान कार्यक्रम–२०८० को उपलक्ष्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनतामा आस्था एवं विश्वास बढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि बढाउनुपर्ने तर्क गरे।

National life

सो अवसरमा राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी (झापा), राजेश विद्रोही यादव (सुनसरी), सोमनाथ अधिकारी सुसेली (इलाम) र सटेन्द्र जवेगु (इलाम)लाई नगदसहित पुरस्कृत गरियो। मुख्यमन्त्री कार्कीले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई सुधार्दै जनतामा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे। उनले कानुन निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउने र यसको माध्यमबाट पत्रकारिता क्षेत्र बलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण बढाउने प्रतिबद्धता जनाए।

उनले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिए। जनताको जनादेश, संविधान र कानुनको माध्यमबाट संसद्भित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पारे। आगामी नीति तथा कार्यक्रम एवं बजेटमा जनताले प्रदेश सरकार एवं विकासको अनुभूति हुने खालको सुझाव दिन पत्रकार सङ्घसंस्थालाई उनले आग्रह गरे।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आवश्यक स्रोत र साधनका आधारमा सञ्चारकर्मीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पुरस्कृत पत्रकार चन्द्रकला न्यौपाने भण्डारी र सोमनाथ अधिकारी सुसेलीले सञ्चारकर्मीले सचेत, संयमित र वास्तविक सत्य तथ्यका आधारमा समाचार सार्वजनिक गर्नुपर्ने सुझाव दिए। मन्त्रालयका उपसचिव अर्जुन निरौला र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारीले पत्रकारको क्षमता अभिवृद्धि र विकास तथा सङ्घको भौतिक पूर्वाधारमा सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराएको जानकारी दिए।

प्रकाशित: May 07, 2023| 20:59 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्