काठमाडौं- संघीय संसद्को बर्खे अर्थात् बजेट अधिवेशन आइतबार सुरु भयो। यसअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक अपराह्न ४ बजेका लागि बोलाइएको थियो। करिब १५ मिनेट ढिलो गरी सुरु भएको बैठक सभामुखले अघि बढाउनै पाएनन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै केही सांसदहरुले उठेर विरोध जनाए। सभामुखले भने, 'बैठकको औपचारिक सुरुआत हुन दिनुहोस्। बैठकमा प्रवेश गरेपछि तपाईंहरूले कुरा राख्न पाउनुहुनेछ।' सभामुखले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नबसेपछि उनले पालैपालो सांसदहरुलाई बोल्ने समय दिए।
सुरुमा समय पाए नेमकिपा सांसद प्रेम सुवालले। राष्ट्रियगान बजिसक्न नपाउँदै सांसद सुवालले समय मागेका थिए। सुवालले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रश्न उठाए। भुटानी शरणार्थी प्रकरणबारे विभिन्न पत्रिकामा आएका समाचारको हेडलाइन पढेर सुनाउँदै उनले संदिग्ध सबैलाई कानुनी कठघरामा ल्याउन माग गरे। सांसद सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए। ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन्? उनको प्रश्न थियो।
अर्को प्रसंगमा उनले रास्वपाले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्ने तर्क गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने पनि उनले बताए। एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत रहेको उनले तर्क गरे।
त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्न माग गरे। २०६३ सालयताका भ्रष्टाचारको नमुना बनेको उल्लेख गर्दै सांसद सिंहले आयोग गठन गरेर छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताए। सांसद सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए।
'कर्मचारी फसाउने राजनीतिक नेतृत्व जोगिने' गलत प्रवृत्ति अगाडि बढेको सिंहको भनाइ थियो। भुटानी शरणार्थीको नाममा नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको उनले तर्क गरे। 'बहालवाला सचिव पक्राउ परेका छन् पहिलोपटक। मिलिजुली गरेर राजनीतिक व्यक्तिलाई उम्काउने कुरा जनता स्वीकार गर्दैनन्। २०६३ यताका जति ठूला भ्रष्टाचारको उच्चस्तरमा छानबिन समिति गठन गर्नुपर्छ,' उनले भने। उनले एउटै बिचौलिया सबै पार्टीको प्यारो कसरी भयो भनेर प्रश्नसमेत गरे।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको बताउँदै यो विषयमा मात्रै नभएर सबै भ्रष्टाचारका मुद्दा उठाउनुपर्ने बताए। 'प्रधानमन्त्रीले ट्रेलरमात्रै हो, फिलिम हेर्न बाँकी छ भन्नुभएको छ। हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं। यती, ओम्नी, लडाकु शिविरका काण्ड के हुन्? सीसीटीभी घोटाला काण्ड सबै एक एक गरेर कारबाही होस्,' उनले भने।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गरेर यो ट्रेलरमात्रै भएको टिप्पणी गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिएँ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिएँ। आज तपाईंहरूले देखिरहनुभएको छ। यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिंगै फिल्म देखिन्छ।’ उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आए पनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताएका थिए।
बैठकमा एमाले सचेतक महेश बर्तौलाले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा गिराउने काम भएको बताए। त्यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइए राजनीतिबाट संन्यास लिने बताए। सो प्रकरणमा आफूलाई पनि मुछिएकोमा आपत्ति जनाउँदै यस्तो बताएका हुन्। केही सञ्चारमाध्यमले आफूलाई यो प्रकरणमा जबरजस्ती तानेको उनले बताए।
नेकपा एमालेका सूर्य थापाले नक्कली भुटानी शरणार्थीका विषयमा प्रधानमन्त्री प्रचण्डई कसले दबाब दियो भनी प्रश्न गरे। उनले उक्त दबाब सार्वजनिक गर्न मागसमेत गरेका छन्।
थापाले क्यान्टोनमेन्टको भ्रष्टाचार र कमानसिंह लामा प्रकरणबारे पनि आफूले फिल्म हेर्न चाहेको बताए। ‘टेलिभिजनमा प्रधानमन्त्रीले भुटानी शरणार्थीको छानबिनमा दबाब छ, तर म दबाब स्वीकार गर्दिनँ भन्नुभएको सुनें,’ उनले भने, ‘दबाब कोसँग हो। उहाँलाई त्यो खुलाउन सभामुखलाई समय दिन माग गर्दछु।’
उनले आफूलाई जनताले जिताएर पठाएकोले उनीहरुको आवाज उठाएको भन्दै क्यान्टोमेन्टमा भएको भ्रष्टाचारको फिलिम हेर्न चाहेको बताए। ‘कोही पनि नक्कली भुटानी बनेर जान चाहने व्यक्ति अपराधी हो,’ उनले भने, ‘त्यसमा रुवाबासी नगरौं। जोजो संलग्न छन्, नछाडौं, निर्दोषलाई नफसाइयोस्।’
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाही गर्न माग गरे। ‘नागरिकलाई बाध्य पारियो नागरिकता त्यागेर शरणार्थी बनाउन। दोषीलाई कारबाही गरियोस्,’ उनले भने।
कांग्रेस सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए।
सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने र निर्दोषलाई उम्किन दिन नहुने धारणा राखिन्।
सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्।
रास्वपा सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। उनले सरकारले भुटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदरुकता देखाएकाोमा धन्यवाद ज्ञापन गरे।
राप्रपा सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढंगले उठाउन नसकेको बताए।
नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले भने, 'तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो। जो जो लागेका छन् उनीहरु कारबाहीको दायरामा आउनुपर्छ। त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ। अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ।'
नेपाली कांग्रेसकी आरजु राणा देउवाले आफूले कुनै गल्ती नगरेको भन्दै कसैसँग नडराउने बताइन्। भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेको उनको तर्क थियो। 'भ्रष्टाचारको कुरामा कति सिरियस छौं भन्ने छ। म नभएको दिनमा यहाँ मेरो नाम इंगित गरेर अनेकथरि प्रश्न उठेको छ। आज पनि उठेको मैले पाएको छु। नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन। पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने। जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ,' उनले भनिन्।
नेकपा माओवादी केन्द्रका माधव सापकोटाले पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन नेकपा एमालेलाई आग्रह गरे। एमाले सांसदहरुले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरु पनि खोलिनुपर्ने बताएपछि सापकोटाले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेका हुन्।
‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा तपाईंहरुको कल्याण छ’, सांसद सापकोटाले भने। त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, सांसद सूर्य थापालगायतले भ्रष्टाचार नियन्त्रणमा आफूहरु तयार रहेको तर विगतका भ्रष्टाचार सम्बन्धी काण्डहरुको पनि छानबिन हुनुपर्ने बताएका थिए।
सांसदहरुबीच जुहारी चलेपछि सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको पालना गर्न आग्रह गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा बोल्दै गर्दा नेकपा माओवादीका सांसद माधव सापकोटाले एमालेले छापामार शैलीमा संसद् कब्जा गर्न खोजेको आरोप लगाएका थिए।
त्यस क्रममा एमाले सांसदहरु आक्रोशित बनेका थिए भने थुप्रै सांसदहरू बोल्न पाउनुपर्ने माग गर्दै रोष्ट्रमअघि उभिएका थिए। लगत्तै सभामुख घिमिरेले एकले अर्काविरुद्ध जुहारी नखेल्न आग्रह गरे।
घिमिरेले भने, ‘यसरी संसद्को कार्यसूची अघि जान सक्दैन। माननीय सदस्यज्यूहरू कार्यसूचीमा जाऔं। माननीय सदस्यहरू बसौं। बैठकलाई सञ्चालन गर्न सहयोग गर्नुहोस्। भोलि पनि समय छ। कार्यसूचीअन्तर्गत अघि बढौं। माननीय सदस्यज्यू बोल्नकै लागि हो यो सभा। तर, प्रणाली पद्धति मानौं। प्रत्येकले एक-एक मिनेट बोल्दा पनि निकै समय खर्च हुन्छ।’