काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भनेको फिल्म हेर्न आफूहरु टिकट काटेर बसेको टिप्पणी गरेका छन्।
बजेट अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सांसद गिरीले प्रधानमन्त्रीलाई कटाक्ष गरेका हुन्। उनले भने, ‘प्रधानमन्त्रीले कास्टिङ हो, फिल्म देखाउन बाँकी छ भन्नुभएको छ। हामी टिकट काटेर बसेका छौं। फिल्म देखाउनुहोला।’
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गरेर यो ट्रेलरमात्रै भएको टिप्पणी गरेका थिए।
नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिएँ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिएँ। आज तपाईंहरूले देखिरहनुभएको छ। यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिंगै फिल्म देखिन्छ।’
उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आए पनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताएका थिए।