काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने धारणा राखेका छन्।
शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी सत्तारुढ, प्रतिपक्षी जुनसुकै पार्टीका ठूलासाना नेतामाथि कारबाही हुनुपर्ने बताएका हुन्।
घटनामा संलग्न कसैलाई पनि सरकारले छाड्नु नहुने उनको भनाइ छ। ‘यो गम्भीर अपराध हो। गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ’, उनले भने।
महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे। सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनले बताए।
उनले भने, ‘रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन। निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला। सरकारसँग स्पष्ट बहुमत छ । समर्थन फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन।’
उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने विषयमा कतै सम्झौता नहुने उनले प्रस्ट पारे। माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए।