बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौं रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। 

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो। 

उहाँले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताउनुभयो। यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन।

‘अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ’, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, ‘अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ।’ पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्। 

जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो।

प्रकाशित: May 05, 2023| 18:29 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्