जनकपुरधाम- आफन्तद्वारा अपहेलित र तिरस्कृत वृद्धवृद्धाको संख्या बढ्दो छ। विभिन्न कारण देखाई आफ्ना वृद्ध आमाबाबुलाई वृद्धाश्रममा राख्ने प्रवृति पनि बढ्दै गएको छ।
आफ्नो घरबार छोडेर वृद्धाश्रममा बस्ने कसैको चाहना निश्चित पनि हुन सक्दैन। परिस्थिति र बाध्यतावश वृद्धवृद्धा त्यहाँ बस्न जानुपर्ने हुन्छ। वृद्ध उमेरमा सन्तान र परिवारका सदस्यहरुको खाँचो रहेको समयमा वृद्धाश्रममा बस्नुपर्ने अवस्था अहिलेका अधिकांश वृद्धवृद्धाको बाध्यता छ।
सन्तान र घरपरिवारका सदस्यले समय र सहयोग नगरेपछि उनीहरुको सहारा बनेका छन्, वृद्धाश्रमहरु। तर, वृद्धाश्रमहरुले राज्यबाट कुनै सहयोग नपाएपछि सञ्चालन गर्न कठिनाई हुँदै आएको छ। यस्तै समस्या झल्दै आएको छ जनकपुरस्थित जानकी वृद्धाश्रमले।
दुई दशकभन्दा पनि पुरानो इतिहास बोकेको जानकी वृद्धाश्रम सञ्चालन गर्न राज्यले चासो नदिँदा दाताको भरमा निर्भर हुनुपर्ने बाध्यता छ। जनकपुरधाम उपमहानगरपालिका-८ स्थित जानकी वृद्धाश्रम सञ्चालन गर्न सरकारले ध्यान नदिएपछि दातामाथि निर्भर हुनु परेको हो।
सरकारी निकायबाट आवश्यक बजेट नआएपछि वृद्धाहरुको हेरचाह र खानपानको जोहो गर्नपनि समस्या हुने गरेको कार्यरत कर्मचारीहरु बताउँछन्। जनकपुरस्थित मारवाडी सेवा समितिले हरेक वर्ष विजया दशमीको नवमीमा जानकी वृद्धाश्रममा खाद्यान्ह, लत्ताकपडा तथा फलफुल वितरण गर्दै आएको छ। पछिल्ला वर्षहरुझैं मारवाडी सेवा समितिले यस वर्षपनि महाराजा अग्रसेनको जन्मजयन्तिको अवसर पारेर नवमीका दिन त्यहाँ खाद्यान्न, लत्ताकपडा तथा फलफुल वितरण गरेको छ।
मारवाडी सेवा समितिजस्तै अन्य सामाजिक संघसंस्थाहरुले बेलाबेलामा गर्दै आएको सहयोगमा निर्भर हुन पुगेको छ, जानकी वृद्धाश्रम। जानकी वृद्धाश्रममा अहिले १६ जना वृद्धाहरु बस्दै आइरहेकी छन्। धनुषा, महोत्तरी, रुपन्देही, रामेछापलगायतका जिल्लाका उनीहरु घरपरिवारबाट तिरस्कार गरिएका वृद्धाहरु हुन्।
बाध्यतावश वृद्धाश्रममा बस्नु परेको भैरहवा घर भएकी बेबी घिमिरेले दुखेसो पोखिन्। यहाँका कर्मचारीहरुले जेनतेन आफूहरुको हेरचाह गर्ने गरेको बताउँदै विभिन्न संघसंस्थाले वितरण गर्ने खाद्यान्न, लत्ताकपडा लगायताका सामग्री वरदान सावित भएको उनले बताइन्।
बुढेसकालमा घरपरिवरासँग बस्न पाउने रहर हुँदापनि सम्भव हुन नसकेको पीडा छ, बारा जिल्लाकी ८० वर्षीया वृद्धा रुपा कार्कीको। घर परिवारले माया मारि सकेपछि बाध्य भएर यहाँ बस्न आएको उनले बताइन्।
१६ वृद्धा तथा उनीहरुलाई हेरचाह गर्ने एक भान्सेसहित ६ कर्मचारी रहेको वृद्धाश्रम सञ्चालन गर्न सरोकारबला निकायले चासो नदेखाएको वृद्धाश्रमका कोषाध्यक्ष ललित बजाजले बताए। पारिवारिक समस्याका कारण यहाँ बस्न बाध्य भएर जीवनको उत्तरार्धमा रहेका उनीहरुलाई हासो खुशी दिनु राज्यकोसमेत दायित्व रहेको उनले बताए।
वृद्धाश्रम सञ्चालन गर्न गत वर्षसम्म केन्द्र सरकारले तीन लाख रुपैयाँ पठाउने गरेपनि यस वर्षदेखि बन्द गरिएको उनले जानकारी दिए। ‘एक त पैसा कम दिइन्छ। सरकारले यसपटकदेखि त्यो पनि बन्द गरिसकेको छ। ’
गतवर्ष सरकारले दिएको पैसा सकिसकेको भन्दै अब कर्मचारीलाई तलब दिनसमेत समस्या देखिएको उनको भनाइ छ। कर्मचारी तलब, दुध, ग्यासलगायतका सामान खरिद गर्न वार्षिक ३३ हजार खर्च हुँदै आएको उनको भनाइ छ।
‘वृद्धाश्रम चलाउन राज्यबाट सहयोग पाउन सकेका छैनौं,’ बजाजले भने,‘प्रदेश सरकार र स्थानीय सरकार आइसकेपछि वृद्धाश्रममा कुनै सहयोग हुन सकेको छैन।’
लत्ताकपडा, खाद्यान्ह, फलफूललगायतका सामग्री समाजका दाताहरुको सहयोगबाट वृद्धाश्रममले पाउने गरेको भन्दै मारवाडी सेवा समितिले हरेक वर्ष एक लाख मूल्य बराबरको सामग्री उपलब्ध गराउँदै आएको बजाजले बताए।
विभिन्न सामाजिक संस्थाहरु खाधान्ह, लत्ताकपडा, दैनिक उपभोग्यका वस्तुहरु वितरण गरिदिँदा केहि मात्रामा भएपनि आफूहरुलाई सहज भएको वृद्धाआश्रममा वृद्धाहरुको हेरचाह गर्दै आएकी सीता अधिकारीले बताइन।
बजेट नआएको वर्ष कर्मचारीहरु बिना तलब बस्नुपर्ने बाध्यता रहेको अधिकारीले जानकारी दिइन। लायन्स क्लब, जनकपुर जेसीज लगायतका संघसंस्थाहरुले खाधान्न सामग्री उपलब्ध गराउने गरेको अधिकारीले बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४