काठमाडौं– संखुवासभाको भोटखोला गाउँपालिका–४ दिदिंगामामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाँचमध्ये दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
हेलिकप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ घाइते भएका हुन्। नेपाली सेनाको हेलिकप्टरले दुर्घटनामा गम्भीर घाइते र सामान्य चोटपटक लागेका सबैलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ।
शुक्रबार दिउँसो अरुण तेस्रो विद्युत् आयोजना निर्माणका लागि सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टर भोटखोला गाउँपालिका–५ को राप्साबाट उडेको थियो।
हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थल गोला बजारबाट २ घन्टाको पैदल दूरीमा पर्ने भएकाले प्रहरी त्यसतर्फ गइसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।