काठमाडौं– सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन्। शुक्रबार राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने औंल्याएका हुन्।
उनले भने, ‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन। सरकारले गरेका कामकारबाही पारदर्शी रूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कायम गर्ने काम सूचनाको हकले गर्छ।’ सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड उनले जोड दिए।
कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताइन्। सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले नागरिकले सहज रूपमा सूचना पाउने उनको दाबी छ।
सरकार पारदर्शी, सुशासन र सेवा प्रवाहका विषयमा गम्भीर रहेको र त्यहीअनुरूप काम गर्दै आएको उनले स्पष्ट पारिन्। ‘संविधान र कानुन कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ। सरकारका कामकारबाही गलत भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ’, उनले भनिन्।
उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताइन्। मन्त्री शर्माले नेपाली नागरिकको सूचनाको हक प्रचलन गर्न सरकारले आयोगको गठन गरेको स्मरण गरिन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उनले सूचनाको हकलाई सरकारको कम प्राथमिकतामा राखिएजस्तो महसुस भएको उल्लेख गर्दै लोकतन्त्रको सुन्दर उपहार जनता र सरकारलाई जोड्ने सूचनाको हक नै भएको स्पष्ट पारे।
आयोग अध्यक्ष महेन्द्रमान गुरुङले जनआन्दोलनपछिको उपलब्धि सूचनाको हकसम्बन्धी अवधारणा आएको र कानुन कार्यान्वयन प्रभावकारी भए राज्यका काम–कारबाहीमा पारदर्शी र सुशासन कायम हुने बताए।
उनले सूचनाको हक कार्यान्वयन गर्ने निकाय सरकारी निकाय भएको हुँदा ती निकायले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए। विश्वका १३६ राष्ट्रमा सूचनाको हकको कानुन बनेर कार्यान्वयनमा रहेको र नेपालको कानुन २२औं स्थानमा रहेको अध्यक्ष गुरुङको भनाइ थियो।