मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता फेरबदलको राइँदलोमा कांग्रेस: सभापति देउवाको कार्यशैलीप्रति उठ्यो प्रश्न

सत्ता फेरबदलको राइँदलोमा कांग्रेस: सभापति देउवाको कार्यशैलीप्रति उठ्यो प्रश्न

भ्रातृ संगठनलाई पूर्णता दिन नसकेको, तीन महिनाको अन्तरालमा एकपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक भदौदेखि नबसालेको र सत्ता फेरबदलको राइँदलोमा फसेर पार्टी संगठनलाई बेवास्ता गरेको भन्दै देउवामाथि खनिए नेताहरू।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– बुधबारको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरूले आक्रोश पोखे। केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभाग गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएकोलगायत विषय उठाएर सभापति देउवा आलोचनाको सिकार भए।

National life

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत नचलेको र पार्टीभित्र कसैलाई काखा र कसैलाई पाखा गरिएको आरोपसमेत लगाए। कांग्रेस कोटाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा पठाइएका नाम एकपक्षीय रहेको र समावेशी नभएको सह–महामन्त्री परिवारले कटाक्ष गरेपछि देउवासँग नोकझो‌ंकसमेत भएको थियो।

विधानअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ। महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ केन्द्रीय सदस्य मनोनीत गरेका छैनन्। जबकि महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुखसमेत हालसम्म तोकिएका छैनन्।

‘केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। डेढ वर्ष बितिसक्दासम्म विभाग बनेको छैन,’ बैठकमा सहभागी सह–महामन्त्री परियारले भने, ‘सभापतिको ढिलासुस्तीका विषयमा कुरा उठेको हो। पार्टीलाई एकढिक्का बनाएर लैजान सभापति देउवालाई आग्रह गरेका हौं।’

सह–महामन्त्री परियारले सभापति देउवासमक्ष मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि पोखे। कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएको र दलितबाट १ जनाले पनि अवसर नपाएको भन्दै उनले सभापति देउवाको कार्यशैलीप्रति प्रश्न उब्जाए।

भ्रातृ संस्थाहरू लथालिंग अवस्थामा रहेको भन्दै नेताहरूले तत्काल कार्यसमितिलाई पूर्णता दिनुपर्नेमा सभापति देउवाले बेवास्ता गरिरहेको आरोप नेताहरूले लगाए। कांग्रेसमा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ अध्यक्ष मनोनीत गरिए पनि पूर्णता पाउन सकेका छैनन्। आदिवासी जनजाति संघ, किसान संघलगायतले विधानअनुसारको पूर्ण कार्यसमिति बनाउन सकेका छैनन्।

भ्रातृ संगठनलाई पूर्णता दिन नसकेको, तीन महिनाको अन्तरालमा एकपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक भदौदेखि नबसालेको र सत्ता फेरबदलको राइँदलोमा फसेर पार्टी संगठनलाई बेवास्ता गरेको भन्दै देउवामाथि खनिए नेताहरू।

‘केन्द्रीय समिति र भ्रातृ संस्थालाई छिट्टै पूर्णता दिइने सभापतिले भन्नुभएको छ। भ्रातृ संस्थाको पूर्ण कार्यसमिति वैशाख मसान्तभित्रै गर्ने आश्वासन पाइयो’,  बैठकमा सहभागी सह–महामन्त्री परियारले भने।

बुधबारको बैठकमा भएको सवाल-जवाफपछिको परिणाम हुन सक्छ, सभापति देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भएका छन्। सम्भवतः आज बेलुकीसम्म नेविसंघ र तरुण दललाई पूर्णता दिने तयारीमा सभापति देउवा छन्।

धुम्बाराही निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले दुवै संगठनका कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको सह–महामन्त्री डिना उपाध्यायले बताइन्। उनले भनिन्, ‘आजको बैठकले नाम संकलन भइसकेका भ्रातृ संस्थालाई पूर्णता दिँदै जाने निर्णय गरेको छ। यसका लागि शुक्रबार पुनः बैठक बसेर भ्रातृ संस्थाका समितिलाई पूर्णता दिन थाल्छौं।’

Dina congress1683271839.jpeg

कांग्रेसकी सह-महामन्त्री डिना उपाध्याय

२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनपछि कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य मत र सिट संख्या पाए पनि भ्रातृ संगठनरु भने लथालिंग छन्। केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति गठन गरेर चलायमान बनेको कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठन नेतृत्वविहीन अवस्थामा छन्। लामो समयदेखि अधिवेशन गर्न नसकेको आक्षेप लगाएर पार्टी सभापति देउवाले १३ भ्रातृ संगठनमध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरे पनि अहिलेसम्म तीन संगठनमा नेतृत्व नियुक्त गरिएको छैन।  

३ फागुन २०७८ मा सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले विघटन गरेका १० मध्ये ३ वटा भ्रातृ संगठनले मात्रै केन्द्रीय नेतृत्व पाएका छन्। नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघमा मात्र सभापति देउवाले आफू निकटलाई नेतृत्व सुम्पिए पनि पूर्णता भने दिएका छैनन्।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघले केन्द्रीय कार्यसमिति विघटन गरिएको एक वर्ष नाघिसक्दा पनि नेतृत्व पाउन सकेका छैनन्।

कांग्रेसले गत भदौदेखि केन्द्रीय समिति बैठक बोलाउन सकेको छैन। विधानमा हरेक तीन महिनाको अन्तरालमा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने उल्लेख भए पनि सत्ता फेरबदलको राइँदलोमा फसेर सभापति देउवाले पार्टी संगठनलाई बेवास्ता गरेको बुधबारको बैठकमा नेताहरूले आरोप लगाए।

वैशाख मसान्तभित्रै सभापतिले केन्द्रीय समिति बैठक राख्ने अन्तिम तयारी भइरहेको देउवा निकट सह–महामन्त्री भीष्मराज आङ्देम्बे दाबी गर्छन्। उनले भने, सभापतिजीले ‘वैशाखभित्रै केन्द्रीय समिति बैठक बोलाउनुहुन्छ। त्यसअघि विभाग र भ्रातृ संस्थालाई पूर्णता दिन्छौं।’

बैठकमा सभापति देउवामाथि भ्रातृ संगठनलाई पूर्णता नदिएकै परिणाम १० वैशाखको उपनिर्वाचनमा पार्टीका सबै संरचना परिचालन गर्न नसक्दा तनहुँ १ गुमाउनुपरेको भन्दै आलोचना गरिएको थियो। 
 

प्रकाशित: May 05, 2023| 13:20 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्