बारा- जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा दुईजना छोराको हत्या गरेर बाबुले पनि आत्महत्या गरेका छन्।
जितपुर सिमरा-४ बस्ने ४० वर्षीय सुरेन्द्र रामले आइतबार आफ्ना दुई छोराको हत्या गरी आफूपनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
सुरेन्द्रले ५ वर्षीय छोरा सुबिन राम र ३ वर्षीय विपिन रामलाई झुन्डयाएर हत्या गरी आफूपनि झन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले बताए। घरभित्रै पहिला छोराहरुलाई झुन्डाएर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको उनको भनाइ छ।
तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगंज नारायणी उपक्षेत्रीय अस्पताल पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रीमतीले छोडेर हिँडेपछि सुरेन्द्रले दुईजना छोराको पालनपोषण गर्दै आइरहेका थिए।
स्थानीयहरुका अनुसार दुई तीन वर्षअघि श्रीमतीले सुरेन्द्रलाई छोडेर गएकी थिइन्। अधिकांश समय मदिरा सेवन गरेर झैँझगडा गर्दै आएका सुरेन्द्रलाई यस अघिपनि प्रहरीले पक्राउ गरेको थियो। मदिरा सेवन गरेर उनले आफ्नी आमामाथि आक्रमण गरेका थिए। मानसिक तनावका कारण सुरेन्द्रले यस्तो गरेको हुन सक्ने प्रहरीको आशंका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४