काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्धामा आफ्नो संलग्नता नरहेको पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीक थापाले दाबी गरेका छन्।
घटनाको यथार्थ छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतीकले आफू संलग्न नरहेको बताएका हुन्।
उनले भनेका छन्, ‘शरणार्थी प्रकरणमा झुटो आरोपसहित मेरो नाम जोडिएकामा खेद प्रकट गर्दै खण्डन गर्छु। आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।’
आफूविरुद्ध गलत मनसायले तथ्यहीन प्रचार र आरोप लगाउने क्रम जारी रहेको भन्दै उनले आपत्ति जनाएका छन्।
‘राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो भन्ने बुझ्न जरुरी छ। हामीले गृह मन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं। जनसरोकारका विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन,’ उनले भनेका छन्।