काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पार्टीभित्र निडर र हक्की नेताको रुपमा चिनिन्छन्। सिन्धुपाल्चोकका बस्नेत आफ्नै गृहजिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन्। गत मंसिर ४ को निर्वाचनमा उनी सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका छन्।
बस्नेत हिजोमात्र माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा स्वास्थ्यमन्त्री बनेका छन्। कांग्रेसको सिफारिसमा उनी मन्त्री बनेका हुन्। हिजो नियुक्त भएका बस्नेतलगायत कानुनमन्त्री धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आज शपथ लिने कार्यक्रम छ।
कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्न चाहनेको सूची लामै थियो। लामो समयसम्म छलफल, दबाब र पार्टीभित्र अन्तरसंघर्ष हुँदा पनि बस्नेतले नेतृत्वलाई रिझाएर स्वास्थ्य मन्त्रालय हात पारेका छन्। बस्नेत सभापति देउवाका विश्वास पात्र हुन्।
बस्नेत तेस्रोपल्ट मन्त्री भएका हुन्। अहिलेसम्म तीनपल्ट सांसद बनेका बस्नेत तीनैपल्ट मन्त्री बन्न सफल भएका छन्। स्वास्थ्यमा नै यो उनको दोस्रो प्रवेश हो। यसअघि उनी २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
त्यसपछि बस्नेत २०७४ सालमा सञ्चारमन्त्री बने। स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनले मन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेका छन्।
कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्न चाहनेको सूची लामै थियो। लामो समयसम्म छलफल, दबाब र पार्टीभित्र अन्तरसंघर्ष हुँदा पनि बस्नेतले नेतृत्वलाई रिझाएर स्वास्थ्य मन्त्रालय हात पारेका छन्।
सभापति शेरबहादुर देउवा निकट बस्नेत विद्यार्थी राजनीतिबाट नै कांग्रेसमा सक्रिय छन्। १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसंघको राजनीतिमा लागेका हुन्।
२०४६ देखि पार्टी राजनीतिमा सक्रिय बस्नेतले २० वर्ष कांग्रेसको सिन्धुपाल्चोक जिल्ला नेतृत्व सम्हालेका थिए। पार्टीको १३औं महाधिवेशनबाट केन्द्रीय राजनीतिमा आएका उनी १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
बस्नेत मार्सल आर्टसका खेलाडीसमेत हुन्। पार्टीमा बस्नेतले खेलकुद विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। बस्नेतले कांग्रेसको दैवी प्रकोप विपद् व्यवस्थापन समितिको संयोजक भएर पनि काम गरेका छन्।
संसदीय राजनीतिको यात्रा पनि युवा उमेरदेखि नै थालेका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट संसद्को टिकट पाएका थिए। पहिलो निर्वाचनमा उनी एमाले उम्मेदवार अमृत बोहरासँग पराजित भए।
त्यसपछिको मध्यावधि निर्वाचनमा भने बस्नेतले टिकट पाएनन्। ०५६ को चुनावमा भने बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अमृत बोहरालाई हराउँदै पहिलो पटक सांसद भए। त्यतिबेला नै बस्नेत स्वास्थ्य राज्यमन्त्री बनेका हुन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उम्मेदवार अरुण नेपाललाई हराउँदै संसद् प्रवेश गरे। त्यसपछि उनी सूचना तथा सञ्चारमन्त्री भएका थिए।
०७४ को निर्वाचनमा बस्नेत तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटासँग पराजित भएका थिए। गत निर्वाचनमा उनी सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका छन्।