बिहीबार, भदौ ४, २०८३

आठ वर्षमा दुई सय २० गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

चितवन- बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको अवधिमा ५१ गैँडा मरेका छन्। यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए। 

तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन्। 

आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए। 

सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैँडा मरेको तिवारीले बताए। तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन्। 

चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए। 

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताए। 

गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिए। रासस

प्रकाशित: May 04, 2023| 09:00 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्