मंगलबार, वैशाख २९, २०८३

नवौं पटक विस्तार गर्दा पनि प्रचण्ड क्याविनेट अपूर्ण

प्रधानमन्त्री प्रचण्डले ११ पुस २०७९ मा प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यस यता नौ पटक गरेर प्रचण्डले मन्त्रीहरू नियुक्त गरे।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याविनेटमा बुधबार कांग्रेसबाट तीन मन्त्री नियुक्त भए। नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। 

National life

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त भए। नवनियुक्त मन्त्रीहरूको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। तीन मन्त्री थपिएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ।

प्रधानमन्त्री प्रचण्डले ११ पुस २०७९ मा प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यस यता नौ पटक गरेर प्रचण्डले मन्त्रीहरू नियुक्त गरे।

प्रचण्डले पछिल्लोपटक ३ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरे। 

त्यसअघि १७ चैतमा सातौंपटकको विस्तारमा कांग्रेसबाट चारजना मन्त्री नियुक्त भए। त्योबेला पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरूङ शहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए।

त्यसअघि १६ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो। 

नवौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता पाउने छैन। सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टी र खानेपानी मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो। तर, जनतम सरकारबाट बाहिरिएपछि अहिले खानेपानी नेतृत्वविहीन छ।

जसपाले पनि वन मन्त्रालयका लागि अहिलेसम्म प्रधानमन्त्रीकहाँ नाम पठाएको छैन। प्रधानमन्त्रीको क्याविनेट कहिलेसम्म पूर्ण आकारको बन्ला भन्ने बारेमा अझै पनि अन्यौलता रहेको छ।

प्रकाशित: May 04, 2023| 07:56 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्