काठमाडौं- सत्ता गठबन्धनको बैठक शुक्रबार फेरि बस्नेगरी सकिएको छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम, सरकारलाई पूर्णता दिने आदिबारेमा छलफल भएको थियो।
संसद्को बजेट अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक मूलतः बजेट निर्माणमा केन्द्रित रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। बैठकपछि उनले भने, 'वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको छ। यो अधिवेशन बजेटपूर्वको छलफल, सरकारका नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणसँग सम्बन्धित विषय छलफल हुनाले त्यसकै पूर्वतयारीका रूपमा कुराकानी भयो।’
उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने बताए। उनले भने, ‘गठबन्धन दलका बीचमा कुनै प्रतिकूलता उत्पन्न हुँदैन, समस्या सिर्जना हुँदैन। सत्ता गठबन्धन फेरबदल पनि हुँदैन। सत्ता गठबन्धनसँग भएको बहुमतमा प्रतिकूलता हुँदैन। गठबन्धन भत्किँदैन।’