काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बोलाएका छन्। प्रचण्डले सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका हुन्। गठबन्धनमा १० दल आबद्ध भए पनि बालुवाटार बैठकमा ५ दललालाई मात्रै डाकिएको छ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। सरकारलाई समर्थन दिँदै आए पनि प्रधानमन्त्री प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई बेवास्ता गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका नेताहरुले सभापति रवि लामिछानेलाई बिन्तीभाउ गरिरहेका छन्।
प्रधानमन्त्री प्रचण्डसँग लगातार छलफलमा रहेका सभापति लामिछानेले पूर्ववत् मन्त्रालय दिइए सरकारमा जाने आश्वासन दिँदै आएका छन्। प्रचण्डले सत्ता गठबन्धनको मुख्य साझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत लामिछानेलाई मनाउन आग्रह गरिरहेका छन्।
बालुवाटार बैठकमा कांग्रेसलाई मन्त्रीको सूची दिन र सत्ता गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने।
रास्वपा सभापतिसँग देउवाले मंगलबार बेलुकी सरकारमा जाने विषयलाई लिएर वार्ता गरे। प्रधानमन्त्री प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि सभापति लामिछानेलाई भेटेका हुन्। तर लामिछानेलाई सत्तारुढ दल गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय नपाए सरकारमा नजाने अडानमा छ।
कांग्रेसभित्र संस्थापन सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइरालाबीच मन्त्री भागबन्डामा किचलो जारी रहेकै कारण प्रधानमन्त्री प्रचण्डले अहिले पनि पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
आजको गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई मन्त्रीको सूची दिन आग्रह गर्ने बताइए पनि कांग्रेसभित्र बाँडीचुँडीको सहमति अझै भइसकेको छैन। पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादवलाई बाराबाट उपनिर्वाचनमा विजयी गराएपछि सरकारमा जाने बाटो खुलेको छ।
प्रधानमन्त्री प्रचण्डले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एस, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपाबाट सरकारमा सहभागी मन्त्रीलाई घोक्रेठ्याक लगाएर रास्वपा, जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रबाट मन्त्री बनाउन चाहेको बताइन्छ। मन्त्री दिँदा बार्गेनिङ बढेपछि प्रधानमन्त्री प्रचण्डले स–साना पार्टीलाई सरकारको समर्थन गरे पनि साइजमा राख्न चाहेको बताइएको छ।
मन्त्रिपरिषद् विस्तार, पछिल्लो समय सरकारमाथि नागरिक स्तरबाट भइरहेको विरोधलगायतका विषयमा छलफल गर्न अहिले बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सनाले भने, ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ।’
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सत्ता गठबन्धन दलबाटै सरकारमाथि भइरहेको टीकाटिप्पणीबारे पनि कुरा उठाउनेछन्। माओवादीका अयोग्य लडाकुलाई जनही २–२ लाख नगदै बाँड्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट पारित गराएपछि आलोचनामा पर्दै आएका प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रप्रति सत्ता गठबन्धन दलका नेताहरुले आगो ओकलिरहेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले त प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी अयोग्य लडाकुलाई २ लाख दिने निर्णयबारे आफू अनभिज्ञ रहेको र अर्थ मन्त्रालयलाई त्यसबारे कुनै जानकारी नभएको बताएपछि नेकपा माओवादी केन्द्रका नेताहरुले कांग्रेसलाई गाली गरिरहेका छन्।
सत्ता गठबन्धनभित्र माओवादी लडाकुलाई रकम दिनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्र्रका मन्त्री रहेका छन् भने कांग्रेस, नेकपा एसलगायत दलका मन्त्रीहरुले मुलुक जटिल आर्थिक अवस्थामा रहेका बेला रकम बाँड्न नहुने अड्डी लिइरहेका छन्।