काठमाडौं– सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाख अपराह्न ४ बजे बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले २४ वैशाखमा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिएकी हुन्।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। सरकारलाई १५ जेठमा वार्षिक खर्च विवरण (बजेट) सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ।
आजको बैठकले एसीसी क्रिकेट कप विजेता खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने निर्णयलाई सदर गरेको छ। मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार शर्माले जानकारी दिइन्।
मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो। खेलकुद पुरस्कार कार्यविधिअनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए। मन्त्रिपरिषद्ले १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो।