काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले श्रमिकको स्थान पार्टी र सदनमा पनि हुनुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा धारणा राख्दै नेता महरले श्रमिकले पार्टी र सदनमा उचित स्थान पाएमात्रै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने बताए।
नेपालमा श्रम गरेर गुजारा गर्ने मजदूरको अवस्था अत्यन्तै कष्टप्रद रहेको बताउँदै उनले श्रमिकहरूले सम्मान पूर्वक बाच्न पाउने अवस्थाको सिर्जना गरिनुपर्ने धारणा राखे। 'राजनीतिक परिवर्तनमा श्रमिकहरूको ठूलो योगदान छ। उहाँहरूको मेहेनेतले मुलुकको आर्थिक सवलीकरणमा पनि ठूलो योगदान पुर्याएको छ। तर, आफ्नै अवस्था दयनीय छ। अब यसको अन्त्य हुनुपर्छ,' महरले भने।
योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिए पनि व्यवहारमा लागू हुन नसक्नु दुखद पाटो भएको उनले बताए। मजदुरका थुप्रै समस्या रहेको र ती समस्या समाधानमा कांग्रेस पनि गम्भीर बन्नुपर्ने बताए। उनले आफूहरूले मजदुरका समस्या समाधानका लागि नेतृत्वलाई पटक-पटक झकझक्याउँदै आएको स्मरण गरे।
'कांग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोइराला मजदूर नेताको रुपमा उदाउनु भएको हो। हाम्रो पार्टीको मजदूरहरूसँग ठूलो लगाव छ। अब उहाँहरूको हितमा हुनेगरी नेतृत्वले काम गर्नुपर्छ र त्यसका लागि सरकारलाई पनि दवाव दिनुपर्छ,' उनले भने।
फरक प्रसंगमा बोल्दै महरले मुलुकमा देखिएका नयाँ राजनीतिक शक्ति भूकम्प जस्तामात्रै भएको टिप्पणी गरेका छन्। महरले संगठन र योजना बिना हुलहुज्जतमा देखिएको लहड भूकम्प जस्तोमात्रै हुने बताए।
'उपनिर्वाचनको परिणामले आत्तिइहाल्नुपर्ने अवस्था छैन। भूकम्प कहिले आउँछ, थाहा हुँदैन। त्यसले क्षतिमात्रै पुर्याउँछ। अहिलेका नयाँ शक्ति पनि त्यस्तै हुन्। तपाईंहरूसँग के योजना छ? भनेर सोध्दा कुनै उत्तर छैन। न संगठन छ, न योजना। ठूला राजनीतिक दललाई गाली गरेरमात्रै कति दिन साख जोगिएला?,' उनले भने। पुराना राजनीतिक दल जनतामाझ पुग्न नसक्नु भने आफूहरूको पनि कमजोरी रहेको उनी बताउँछन्।
अज जनताको घरदैलोमा पुगेर कांग्रेस जनमैत्री बन्नुपर्ने उनले बताए। 'जसरी भूकम्पको समयमा काठमाडौंमा घरबेटी सातौँ तलबाट जमिनमा आएका थिए त्यसरी नै हाम्रा नेताहरू पनि अब जनताको घरदैलोमा पुग्नुपर्छ। हामीलाई जनताले सच्चिनुहोस्, हाम्रो घरदैलोमा पुगेर हाम्रा भावनाको सम्बोधन गरिदिनुहोस् भनिरहनु भएको छ। त्यो जनताको हामीप्रतिको अपेक्षा पनि हो,' उनले भने। राजनीति देश र जनताकै लागि गरिने भएकाले सातौँ तल्लाबाट जमिनमा हेरेरमात्र नहुने उनले बताए।
मुलुकलाई एउटा दिशामा ल्याउनका लागि विभिन्न कालखण्ड पार गर्नुपर्ने भएकाले पनि केही समय जनतामाझ जान नसकिएको स्विकार्दै महरले अब भने कुनै पनि बहानामा पार्टीलाई जनमैत्री र युवामैत्री बनाउनबाट चुक्न नहुने धारणा राखे। विभिन्न घटनाक्रमले कुनै न कुनै सन्देश दिने बताउँदै महरले अहिलेको परिस्थितिले जनताले परिवर्तित कांग्रेस खोजिरहेको बताए। त्यसका लागि नेतृत्व तयार हुनुपर्ने र आफूहरूले पनि झकझक्याइरहेको उनले धारणा राखे।
'लोकतन्त्रको जग बसाल्दै कांग्रेसले बलियो बनाइसकेको छ। त्यसभित्र जनता ढुक्कसँग बस्न सक्ने अवस्था सिर्जना भएको छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधान निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई पटक निर्वाचन गराउन कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकालाई जनताले भुल्नु भएको छैन,' उनले भने। मुलुक अप्ठ्यारोमा पर्दा निकास दिने एकमात्र पार्टी कांग्रसनै भएको उनले दाबी गरे।