काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ।
एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए। उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने छ।
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्नेछन्। वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताए।
बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बैठकपश्चात वैशाख ३१ गते सुखानीलगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको अवलोकन गराइने कार्यक्रम रहेको उहाँले जानकारी दिए। मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थान अवलोकन भ्रमणको सूचीमा परेका छन्।
विसं २०४५ यता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उनले झापा बैठकले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न योगदान पुर्याउने धारणा व्यक्त गरे। चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचनपश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानवादी दल र सङ्घसंस्थाहरुले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाको गृह नगर दमकमा आयोजना हुन लागेको हो।