बिहीबार, वैशाख ३१, २०८३

अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिंदैछ : अध्यक्ष ओली

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन्।

National life

१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए।

हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ थियो। 

‘निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ। निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ,’ उनले भने, ‘उद्योग बन्द गराउने काम हुनु हुँदैनथ्यो। हिजो भए। अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ।’

उनले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राखे। अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए।

‘समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ। हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ,’ उनले भने, ‘हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ।’
उनले देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा राखे। कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राखे। ‘भ्रम, भावनाबाट देश बन्दैन। हामीले योजनाबद्ध ढंगले सही नीतिका साथ देशलाई अगाडि बढाउनुपर्दछ,’ उनले भने।

प्रकाशित: May 01, 2023| 19:03 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्