बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको चेतावनी- ०४८ सालयताका सबै भ्रष्टलाई कारबाही हुन्छ

प्रधानमन्त्रीको चेतावनी- ०४८ सालयताका सबै भ्रष्टलाई कारबाही हुन्छ

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०४८ सालयताका सबै भ्रष्टलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

National life

पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टलाई कारबाही गर्ने उनले बताए। अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए।

अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने स्पष्ट पारे।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डंगुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध खडा हुन पनि पार्टीका, नेता–कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गरे। उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि बताए। 

उनले भने, ‘मैले पार्टी र नेतृत्वको हैसियतले, सरकारको प्रधानमन्त्रीको हैसियतले मैले आउने नीति, कार्यक्रम र बजेट श्रमिक जनसमुदायमुखी होस् भन्नेतिर मेरो ध्यान छ। मेरो पूरै ध्यान छ। उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित होस् भन्ने मेरो ध्यान छ। म त्यहाँ लडाइँमा छु भन्ने बुझ्नुहोला। म लडिराखेको छु, लड्छु।’

प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्याए। अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले उनीहरूलाई राहत दिन लागे पनि स्याल हुइँया मच्चाउन खोजिएको उनको भनाइ थियो।

प्रकाशित: May 01, 2023| 18:25 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्