काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ।
सोमबार बिहान रास्वपा मुख्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले बताएका हुन्।
रविले नागरिकता प्रकरणमा सांसद पद गुमेपछि संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो।
१० वैशाखको उपनिर्वाचनमा चितवन २ बाट सांसद निर्वाचित भएपछि अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए।
अर्यालको राजीनामा स्वीकृत भएसँगै सभापति लामिछानेलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको थियो।
३६ विभाग गठन
आजको बैठकले ३६ विभाग गठन गरेको छ। बैठकले विभाग गठन र हाल भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।
नीति तथा विभाग र प्रशिक्षण विभाग प्रमुखमा डा. मुकुल ढकाल चयन भएका छन्। संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार–प्रसार विभाग विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन्।
यसैगरी मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संसाधन विभाग खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा. चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे, तथ्यांक अनुसन्धान विभागमा मनिष झालाई चयन गरिएको छ।