काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार पाँचै वर्षसम्म चल्ने र यताउति नहुने दाबी गरेका छन्।
चितवन वरपर निर्मित विभिन्न आयोजनाको शिलान्यासका लागि शुक्रबार गृहनगर शिवनगर पुगेका प्रधानमन्त्री प्रचण्डले सरकारको आयुबारे कसैले भ्रम पाल्न नहुने बताएका हुन्।
उनले भने, ‘सरकार पाँचै वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम मात्रै हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त प्रचण्डले व्यक्त गरे।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा चलिरहेको कुराकानी सकारात्मक हुँदै गएको जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। रास्वपा पनि सरकारमा आउने कुरा चलिरहेको छ।’
रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएकाले यसैलाई इस्यू बनाउनजस्तो आफूलाई नलागेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
सत्ता साझेदार दलबीच सल्लाह गरेरै सहमतिमा जाने र रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा सहमति भने भइनसकेको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपा अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही समस्या छैन।’
उनले महावीर पुन आफूसँग सल्लाह गरेरै माइतीघरमण्डलामा बसेको खुलासा गरे। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भेटमा मैले बजेटमा तपाईंका माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनें। हिँड्ने समय उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो, हाँसीहाँसी।’ पुनले विकास बजेटको १ प्रतिशत बजेट प्रविधि क्षेत्रलाई छुट्याउन अनुरोध गरेको पनि उनले बताए।
पूर्वलडाकुलाई रकम दिने विषय २०७१ को सरकारले गरेको निर्णय भएको प्रधानमन्त्री प्रचण्डले प्रस्ट्याए। तत्कालीन समय अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।
तत्कालीन समय सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनको भनाइ छ।
आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए।
एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको उनको दाबी छ। प्रधानमन्त्री प्रचण्डले भने, ‘ओलीमाथि आक्रमण गर्ने तत्कालीन राजा र तिनका समर्थक भन्ने छ। त्यो गम्भीर विषय हो।’
खेलकुद क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको उनले सुनाए। सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने प्रधानमन्त्री प्रचण्डले बताए।