लुम्बिनी- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएको छन्।
यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए।
प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाएका छन्। गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ। मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय छन्।
मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको अधिवेशन मङ्गलबारका लागि बोलाइएको छ। प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरिएको सूचनामा जनाइएको छ।