बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महावीर पुनका माग सम्बोधनमा सरकार तत्काल गम्भीर बन्नुपर्छ : नेता महर

महावीर पुनका माग सम्बोधनमा सरकार तत्काल गम्भीर बन्नुपर्छ : नेता महर

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै  सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

National life

पुन नेतृत्वको टोली तीन दिनदेखि माइतीघर मण्डलामा धर्नारत रहेकोमा नेता महरले त्यहाँ पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै पुनका माग सम्बोधन गर्न सरकारले विलम्ब गर्न नहुने बताए।

‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु भएको छ। यो राज्यको दायित्व नै हो। पुनका माग सम्बोधनमा सरकारले कुनै बहानाबिना कार्य थालनी गर्नुपर्छ,' उनले भने। उनले पुनका मागका बारेमा आफूले यसअघि नै आफ्नो पार्टी कांग्रेस र सरकारलाई जानकारी गराउँदा पनि सम्बोधन हुन नसकेको र अहिले अनसन बस्नुपर्ने अवस्था सिर्जना भएको बताए।

'वर्ष दिन अगाडी आविष्कार केन्द्र स्थापनका लागि सबै तहका सरकारले एक प्रतिशत बजेट आविष्कारका लागि छुट्याउनु पर्नेबारे पुन र मेरा बिचमा छलफल भएको थियो। सो कुरा मैले कांग्रेस र नेपाल सरकारसँग राखेको थिए। सुनुवाइ भएन। ढिलै भए पनि यो कुराको सुनुवाइ होस् भन्ने आफूले चाहेको उनले बताए,' उनले भने। सरकारले पुनका माग सम्बोधनमा ढिलाइ गरे उनको पक्षमा देशव्यापी जनलहर सिर्जना हुने उनको भनाइ छ।

'दुनियाँ चन्द्रलोकमा पुग्न थालिसकेको छ। हामी यथास्थितिवादमा छौं। अब यस्तो प्रवृत्तिमा हामीले फड्को मार्न सक्दैनौं। यसबाट मुक्ति दिलाएर अगाडि जानुपर्छ भन्ने उहाँको चिन्तनमा हाम्रो साथ समर्थनमात्र नभएर उहाँका माग सम्बोधनमा सरकार गम्भीर बनोस्', उनले भने। सरकारले आज पुनसँग एक चरणको छलफल सकेकोमा बेलुकी हुने छलफलबाट ठोस निष्कर्ष निस्किने आफ्नो विश्वास रहेको उनले बताए।

देशका आविष्कार केन्द्र खोल्नका लागि पुन जस्ता व्यक्तिले सडकमा आउनुपर्ने विषय चिन्ताजनक भएको उनको टिप्पणी छ। 'उहाँको चिन्तन नेपालमै वैज्ञानिक उत्पादन गर्ने र उनीहरूलाई यही रोक्ने हो। उहाँको महान् विचारमा मेरो पूर्ण साथ र समर्थन छ। त्यसका साथै पुनको मागलाई आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्ने ग्यारेन्टी गर्न तीनै तहका सरकारसँग अनुरोध गर्छु,' महरले भने।

यसका साथै पुनका माग सम्बोधन र आविष्कार केन्द्रका लागि बजेट विनियोजन गर्न आफूले कांग्रेसमा र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि कुरा गरेको बताए।

प्रकाशित: Apr 30, 2023| 18:31 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्