काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।
आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन किसिमका मानिसले मात्र राजतन्त्र मान्ने गरेको बताएका हुन्।
‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीको भनाइ छ। उनले स्वार्थी तत्वहरु बिकाउ माल भएको भन्दै उनीहरुलाई हप्ता-दश दिनका लागि किन्न सक्ने तर्क गरे। अध्यक्ष ओलीले झापा, इलाम,र तेह्रथुमलगायत स्थानमा आफू जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको रहेको दावी गरे।
‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीति गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे। यसको संलग्नता विभिन्नतिर देखिएको छ।
ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ,’ ओलीले भने। उनले सत्तामा हुने पार्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउँदा पनि सरकार चुप लागेको बताए।