बिहीबार, वैशाख ३१, २०८३

सडकमै रातभर सुतेर धर्ना दिइरहेका महावीर जुटाउँदै ऐक्यबद्धता

अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले समर्थन र ऐक्यबद्धता बढाउँदै लगका छन्।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले समर्थन र ऐक्यबद्धता बढाउँदै लगका छन्।

National life

शनिबार माइतीघर पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उनको पक्षमा उभिएको छ।

शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउँदै लामिछानेले आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका थिए। 'आफ्नो जायज माग पूरा गर्न, राज्यले सोच्नुपर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ। यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईंको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहन्छु। हाम्रोतर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौं,’ सांसदसमेत रहेका लामिछानेले भने। 
   
आफ्नो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आएका छन्। उनले दुई रात माइतीघरको सडक पेटीमै बिताएका छन्।

rabi  mahabir_large1682831492.jpg

पुनलाई ऐक्यबद्धता जनाउँदै रास्वपा सभापति लामिछाने
 
‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनु होस्। के त होला र? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि,’ पुनले शनिबार बिहानै उठ्ने बित्तिकै भनेका थिए।

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर आन्दोलनमा छन्।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुन आन्दोलनमा होम्मिएका हुन्। 

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानुअघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पूरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ऐक्यबद्धता जनाउँदै धर्नालाई समर्थन गर्न आज दिउँसो १२ बजे माइतीघर मण्डलामा जाने बताएका छन्। काठमाडौंमा मात्र नभए पुन नेतृत्वको जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।

simaraaaaaaaaaaaaaaa.JPG1682831604.jpg

सिमरामा आयोजित विरोध प्रदर्शन

शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रर्दशन गरेका थिए। नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फूर्त रुपमा प्रदर्शन भएको थियो।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनबारे जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन्। प्ले कार्डसहित स्वस्फूर्त रुपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन्। सिमराका युवाहरुले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन्।

प्रकाशित: Apr 30, 2023| 10:55 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्