बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीका अयोग्य लडाकुलाई रकम दिनुको सट्टा स्वरोजगार बनाइनुपर्छ : नेता महर

माओवादीका अयोग्य लडाकुलाई रकम दिनुको सट्टा स्वरोजगार बनाइनुपर्छ : नेता महर

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले माओवादीका लडाकुलाई आर्थिक सहयोग दिनुभन्दा पनि स्वरोजगार बनाउनतिर लाग्नुपर्नेमा जोड दिएका छन्।

National life

शनिबार स्वास्थ्य खबर पत्रिकाको हेल्थ अवार्डद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा नेता महरले माओवादीका लडाकुलाई सरकारले दुई लाख रकम दिँदैमा तिनको जीवनमा कुनै ठूलो उपलब्धि नहुने बताएका हुन्। 

‘देश परिवर्तनका लागि लडेका माओवादीका पूर्वलडाकुको जीवनमा अहिले दिइने भनिएको दुई लाखले केही हुने होइन। त्यसैले उनीहरुले नै दुई लाख लिँदैनौं भन्न सक्नुपर्छ। बरु ठूला–ठूला उद्योग स्थापना गरेर माओवादीका लडाकुलाई रोजगार दिइनुुपर्छ। त्यो दिगो पनि हुन्छ। राज्यले यसरी दीर्घकालीन रूपमा सोच्नुपर्छ,’ उनले भने। 

नेता महरले माओवादीका अयोग्य लडाकुलाई स्वरोजगारसम्बन्धी तालिम दिनुपर्ने सुझाए। मुलुक आर्थिक संकटतिर गइरहेको अवस्थामा राज्यको ढुकुटीबाट माओवादीका अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय उपयुक्त नहुने उनले बताए। त्यो रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सके सबैको हितमा हुने महरको तर्क छ।

‘मुलुक आर्थिक संकटमा छ। सरकारले कर्मचारीलाई नै तलब खुवाउन समस्या भोगिरहेको कुरा आइरहेको छ। यस्तो अवस्थामा सरकार सचेत नभए जनतामा वितृष्णा पैदा हुन्छ। व्यवस्थाप्रति अविश्वास बढ्छ। त्यसैले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ। माओवादीका अयोग्य लडाकु एक/दुई लाखका लागि लडेका होइनन्। उनीहरूको योगदानको कदर गर्दै दीर्घकालीन व्यवस्थापनबारेमा सोच्नुपर्छ,’ उनले भने।

करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाखका दरले बाँड्दा करिब डेढ अर्ब राज्यको ढुकुटीबाट सकिनेछ।

गत ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णयको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएका छन्। जनस्तरबाट पनि यसको विरोध हुँदै आएको छ।

प्रकाशित: Apr 29, 2023| 14:46 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्