काठमाडौं- 'वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर...' गाउँदै–नाच्दै गरेकी चञ्चले माला सिन्हालाई के बिर्सन सकिन्छ? नेपली सिने जगतको ढुकढुकी रहेको यो गीत सदावहार छ। र, गीतसँगै आफ्नो अभिनयको दमले माला सिन्हा पनि अमर भइन्।
‘आकाशलाई छोएको छ मेरै हिमालले...’ गीतमा माला सिन्हाले आफूलाई यसरी प्रस्तुत गरेकी छन् मानौं उनी साँच्चिकै खोलापारी छिरिङ गाउँकी माया नै हुन्। आफ्नो चरित्रमा पूरै ढल्ने उनी आफ्नो समयकी उत्कृष्ट नायिका हुन्।
उनीमात्रै नभएर यस चलचित्रका नायक चिदम्बरप्रसाद लोहनी पनि उत्तिकै वास्तविक लाग्छन्। नेपाली चलचित्रमा त्यसपछि नदेखिएकी माला सिन्हाको करिअरको यो उत्कृष्ट चलचित्र पनि हो। भनिन्छ, असल नायक यस्तो हुनुपर्छ जो आफूलई बिर्सेर पूरै चरित्रलाई आत्मसात् गरोस्। चलचित्रमा मालाले आफूलाई खरो उतारेकी छन्।
शीर्षक नै माइतीघर भएपछि चलचित्र नायिका प्रधान हुने अनुमान लगाउन सकिन्छ तर माला सिन्हाले आफ्नो अभिनयले पनि मायाको चरित्रलाई नायकको रुपमा उभ्याइदिएकी छन्।
सन् १९६६ मा निजी ब्यानरमा निर्माण भएको पहिलो नेपाली फिचर फिल्म माइतीघरको शीर्ष गीत आज पनि सर्वप्रिय छ। चलचित्रका अन्य गीत पनि उत्तिकै कर्णप्रिय छन्। नयाँ–पुराना दुवै पुस्तामाझ लोकप्रिय रहेको चलचित्र माइतिघर यत्रो वर्ष बितिसक्दा पनि उत्तिकै सान्दर्भिक लाग्छ।
नेपाली सिने जगतमा सुरुदेखि नै नायक हाबी हुने गरेको पाइन्छ। तर केहीमात्रै यस्ता नायिका छन् जसले आफ्नो अभिनयको दममा नायकत्व प्राप्त गर्न सकेकी छन् र जसको पात्र पनि अमर भएको छ। तिनैमध्ये एक हुन् माला सिन्हा। पुरानो समयकी उनी बलिउडकी निकै व्यस्त र चर्चित नायिका हुन्।
सन् १९३६ मा भारतको कोलकातामा जन्मिएकी सिन्हा मूलतः नेपाली नै हुन्। उनका आमाबुबा नेपालबाट वेस्ट बंगालमा बसाइँसराइ गरेका थिए। त्यही भएर पनि नेपाली सिने जगत र नेपाली दर्शकको मायामा उनी बाँधिइरहिन्।
सन् १९५० देखि ७० को दशकसम्म बलिउड चलचित्रहरुमा प्रमुख भूमिकामा रहेकी उनले गुरुदत्त, किशोर कुमार, मनोज कुमार जस्ता प्रख्यात अभिनेतासँग काम गरिन्। प्यासा, धुलका फूल, फिर सुवह होगी लगायत उनका चलचित्र हिट छन्।
माइतीघर चलचित्र एउटी यस्तो सशक्त आमाको कथा पनि हो, जसले आफू नर्क भोगेर पनि सन्तानको लागि आधारभूत आवश्यकता पूरा गर्छिन्। एउटी असल पत्नी र प्रेमिकाको कथा पनि हो यो।
निजी ब्यानरमा बनेको पहिलो र नेपाली तेस्रो चलचित्र हो माइतीघर। महिला नायक भएको चलचित्र हो यो। यसमा एउटी विधवाले भोग्ने गरेको तात्कालिक सामाजिक लाञ्छना, आक्षेप, आरोपप्रत्यारोप र त्यसबाट मर्नसम्म प्रेरित गर्ने नेपाली समाजको कथा छ। र, कथा छ एउटी अवला महिलाको जसको लागि यो समाज त्यतिबेला पनि असुरक्षित थियो र आज पनि असुरक्षित छ।
माइतीघर चलचित्र एउटी यस्तो सशक्त आमाको कथा पनि हो, जसले आफू नर्क भोगेर पनि सन्तानको लागि आधारभूत आवश्यकता पूरा गर्छिन्। एउटी असल पत्नी र प्रेमिकाको कथा पनि हो यो।
यस चलचित्रमा माला सिन्हाको सशक्त भूमिकालाई बिर्सिन सकिन्नँ। पहाडको भीरपाखामा स्वच्छन्द नाच्दै गाउँदै हिँडेकी खोलापारी छिरिङ गाउँकी माया सुवेदार मेजरको छोरा मोहनको प्रेममा पर्छिन्। दुवैको बिहे पनि हुन्छ र एउटा सन्तान जन्मेपछि मोहन सिकार खेल्न भनेर जंगल जान्छन् तर जिउँदो फर्कन्नन्। त्यसपछि हुन्छ मायाको संघर्षको कथाको उठान।
छोराको मरेको आक्षेप एउटी विधवा बुहारीको पोल्टामा आइपुग्छ। उनलाई पोइटोकुवा भन्ने तत्कालिन नेपाली समाज कतिसम्म क्रुरता देखाउन सक्छ भने लाञ्छना सहनुभन्दा मर्नु बेस ठान्छिन्। आत्महत्यासम्म गर्ने मानसिकता विकासमा समाजले कस्तो भूमिका खेलिरहेको हुन्छ, त्यसको उदाहरण हो माइतीघर।
घर र समाजको अपहेलना भोग्न नसकेकी बुहारी घर छोड्न बाध्य हुन्छिन्। तर समाजकी अर्की महिलाकै हातबाट पुनः अर्को नर्क अर्थात् वेश्यालयसम्म पुग्छिन्। जिउ नबेचे पनि जीवनले उनलाई निकै पटक प्रहार गर्छ र अनेक हण्डर खाएर ढुंगा बनेकी आमाले पुनः सन्तानको लागि आफूलाई उभ्याउँछिन् र बलियो गरी टेक्छिन्।
कथामा तत्कालिन समय र समाजको बिम्ब प्रस्तुत भए पनि चलचित्र आज पनि सान्दर्भिक लाग्छ। दूरदराजका गाउँ–पहाड र तराईमा उक्त समस्या आज पनि विद्यमान छ। जसको कथावस्तु आजभन्दा झण्डै ५७ वर्षअघि माइतीघरले जस्ताको त्यस्तै पस्केजस्तो लाग्छ। चलचित्रको कथा यस्तो छ कि माया आज पनि छ, मोहन पनि छ र समाज पनि उस्तै छ। धेरै केही फेरिएकै छैन।
बी एस थापाको निर्देशनमा बनेको चलचित्रले जति राम्रो दृश्यहरु खिचेको छ, त्योभन्दा बढी मिठासपूर्ण संवादहरुले कथालाई झनै सशक्त बनाएको छ।