सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए। कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन्।
बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए। प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो।
ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए।
यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ।