पोखरा- गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन्।
यस्तै, गण्डकी सरकारमा दुई मन्त्री नियुक्त भएका छन्। माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका हुन्।
गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए।
सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री दिइएको हो। पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र (एकीकृत समाजवादी प्रवेश गरेका) एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।