काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई संसदीय समितिमा रहने सदस्यको नाम बुझाएकोमा एक जना फरार सांसदको नामसमेत समेटिएको छ।
एमालेले फरार सांसद लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको हो। कोइरीसमेत रहेको उक्त समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ।
गत मंसिर ४ को चुनावमा नेकपा एमालेबाट महोत्तरी-१ बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल जाँदै गरेका नेपाल प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट जबर्जस्ती निकालेर हत्या गरेको आरोप छ।
कोइरीलाई जनकपुर उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको थियो। तर, उनी राजनीतिक संरक्षणमा छन्। प्रतिनिधिसभा सुरु भएसँगै सांसद कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज सदनमा उठेपछि उनी संसद गएका छैनन्।