बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेवानिका कर्मचारीलाई थर्काउँदै मन्त्री किरातीले भने- मलाई पैसा मन पर्दैन, काम चाहिन्छ

नेवानिका कर्मचारीलाई थर्काउँदै मन्त्री किरातीले भने- मलाई पैसा मन पर्दैन, काम चाहिन्छ

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको टिप्पणी गरेका छन्। उनले नयाँ मन्त्री आएपछि निगमका कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरिएको बताए।

National life

बिहीबार नेवानिको वार्षिक समीक्षा बैठकमा मन्त्री किरातीले भने, ‘म मन्त्री भएको सय दिन भयो। यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ। यति भन्दैमा फेरि निगमका कर्मचारीहरू चाहिँ चोखो छन् भन्ने हैन। नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना हैन, पैसा असुल्ने नै कार्ययोजना बनाउँछन्।’

आफूलाई पैसा मन नपर्ने भन्दै कामसँग मात्र सरोकार राख्ने स्पष्ट पारे। उनले भने, 'म वर्ग र जातपात हेर्दिनँ, मेरो सम्बन्ध कामसँग हुनेछ। म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन, एउटा चक्लेट पनि चाहिँदैन। किनकि मलाई मृत्यु थाहा छ। म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु। म मरेपछि पनि सधैँ सबैले सम्झिरहने गरी अजम्बरी हुन चाहन्छु। त्यसैले मसँग लोभ छैन। विगत जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन।’

निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने प्रष्ट्याए। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्रीले भने, ‘तपाईंलाई यो काम गर्ने अवसर हो। म अब तपाईंलाई कारबाही गर्छु तपाईंले क-कसलाई कारबाही गर्ने हो गर्नुस्। यदि काम गर्न सक्नुभएन भने सल्लाह गरेर नै छाडेर जानुस्। तपाईंलाई सौहार्दपूर्ण ढंगले नै बिदा गर्नेछौं। आज तपाईंले जसरी मुखले प्रतिबद्धता गर्नुभयो, सोही अनुसार काम गर्नुहोला। बाहिर शक्तिको ढोका न चहार्नुहोला। राम्रो काममा सधैं मेरो तपाईँप्रति सहयोग र संरक्षण रहनेछ।’

मन्त्री किराँतीले निगमको बोर्ड सदस्यको पनि झाँको झारे। निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने सदस्यहरू सुविधाका लागि होडबाजी गर्ने पाएको उनले बताए। उनले भने, ‘निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाको लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो। हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ। सुविधाको लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न। म परीक्षामा छु। यो परीक्षामा पास गराउने जिम्मा तपाईंहरूको हो। अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ।'

प्रकाशित: Apr 27, 2023| 18:53 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्