काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एसका १ गरी ३५ जना सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ।
नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार मध्यान्ह प्रदेश प्रमुख गुरुङले सपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले बताएको छ।
एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पद गुमाएका थिए। लगत्तै प्रदेश प्रमुख गुरुङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डे गत ४ मंसिरको निर्वाचनमा गोरखा २ ‘ख’ बाट निर्वाचित हुन्।