बिहीबार, वैशाख ३१, २०८३

घोराही-तुलसीपुर सडक आयोजना अघि बढ्छ : मन्त्री शर्मा

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

देउखुरी- सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले घोराही-तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताएकी छन्।

National life

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढंगबाट प्रक्रिया अघि बढाउने विषयमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिइन्। 
भारतीय निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर अहिलेसम्म नौ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति नदेखिएको हुँदा ठेक्का प्रक्रिया रद्द गरी एक्जिम बैंकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरी नीतिगत रुपमा सहमत जुटाउने काम भइसकेको उनको भनाइ छ। उनले असार अगावै चारलेन सडक निर्माणलाई नयाँ ढंगबाट अघि बढाउन सकिने विश्वास दिलाइन्। 

काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उनको भनाइ थियो। यसैगरी, उनले देशमा आर्थिक संकट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने खोजेको बताइन्। 

अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न गरि प्रक्रिया अघि बढाएको जानकारी गराइन्।

यसैगरी, लामो समयदेखि टुंगोमा पुर्‍याउन नसकिएको सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा पनि सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको जानकारी गराए।

प्रकाशित: Apr 27, 2023| 15:18 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्