बिहीबार, वैशाख १३, २०८१

फिल्म समीक्षा

दर्शकसँग सोझै संवाद गर्ने 'जारी'

२०५२ सालतिरको परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो।

triton college

वितरकका अनुसार यसले पहिलो सातामा सात करोडभन्दा बढीको व्यापार गरेको छ। कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेका छन्।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन्। लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ।

चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ। २०५२ सालको परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ। चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ। बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो।

सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन्। किनकी दोष उनले मात्र खेप्नुपरेको छ। त्यही सिलसिलामा आफ्नो पतिलाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ।

corrent noodles
Metro Mart

हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन्। नाम्साङले हाङ्मालाई फर्काउन छरितोपन देखाउँदैनन्। त्यही क्रममा पालममा जितेर अर्कैले हाङ्मालाई पत्नी बनाउँछ।

हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन्। पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ। बेहुली बनेर स-सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउँदिनन्। उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन्।

त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन्। केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन्। तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन। पालम गाउँ नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउँदैनन्।

jari 1681624569.jpg

त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन्। उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन्।

जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन। एकदिन नाम्साङको आमाको देहान्त हुन्छ। एक वर्षलाई शुभकार्य रोकिन्छ। त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा। के नाम्साङले दोस्रो विवाह गर्छन्? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन्?

हाङ्मालाई पालममा जितेका पतिले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन्।

निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढंगले कोरेका छन्। व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन। अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’। कथामा मौलिकता छ।

चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल भएका छन्। त्यसलाई अगाडि बढाउन उनले फाल्तु दृश्यलाई जोडेका छैनन्। कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ।

नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन। हाङ्मा पनि उस्तै छिन्। निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन्।

पहिलो दृश्यपछि दुवै बोल्दैनन्। तर उनीहरूबीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन्। उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन। तर व्यक्त पनि हुँदैन। उनीहरूबीच संवाद कसरी होला भन्ने दर्शकको जिज्ञासा सरल रूपमै निर्देशकले मेटाएका छन्।

यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो। यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन्।

पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्तता हो। निर्देशक सुब्बाले लेखनका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लवज र मिठास भर्न सफल भएका छन्।

चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ । गीतले कथालाई अगाडि बढाउँछ। त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन। कथालाई लयमा बगाउन झुमा लिम्बू र गंगा थापाको स्वर तारिफ गर्न लायक छ।

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो। अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाएका छन्। पहिलो दृश्यमा उनले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ। यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन्।

उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ। विजय बरालले मंगल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल भएका छन्। काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ।

नेपाल जातजाति, भाषा, संस्कार-संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ। निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार-संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल भएका छन्।

यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन। विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो। विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ। तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन्।

कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुकेका छन्।

यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मन पराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ। मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन्।

यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो। कालो पोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको संघर्ष ‘जारी’ ले सोच्नै परेन। यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ। यो चलचित्रको महत्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ।

‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहेका यस चलचित्रमा प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहेको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।  
- भेषराज कार्की/रासस

प्रकाशित: Apr 27, 2023| 14:25 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।