काठमाडौं– लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने भएका छन्।
चौधरीले बिहीबार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै निवेदन पेस गरेका हुन्।
चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एस र एक जना स्वतन्त्र सांसदको समर्थन छ।
चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३÷३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ। माओवादीका ११ मध्ये १ जना तुलाराम घर्ती सभामुख छन्।
चौधरी दाङ ३ ‘क’ बाट निर्वाचित सांसद हुन्। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ।यसअघि एमाले नेता लीला गिरीको सरकार गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो।