काठमाडौं– दस दलीय गठबन्धनबाट कांग्रेस नेतृत्वमा गण्डकी प्रदेशले आज नयाँ सरकार पाउँदै छ।
गत शनिबार विश्वासको मत पाउन नसकेपछि गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि सत्ता गठबन्धनबाट नयाँ सरकार बन्न लागेको हो।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदै छ।
कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताए।
कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने उनले उल्लेख गरे।
‘कांग्रेसले मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भइसकेको छ। मन्त्रालय बाँडफाँटलगायत विषयमा गठबन्धन दलबीच थप समझदारी बनाएर अघि बढ्छौं’, प्रदेशसभा सदस्य थापाले भने।
कांग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्वविधा नरहेको उनको भनाइ छ।
माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने मुख्यमन्त्री दाबी गर्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको बताए। ‘हाम्रो पनि मुख्यमन्त्रीमा दाबी छ। केन्द्रबाट के निर्देशन आउँछ, सोहीअनुसार हुन्छ’, उनले भने, ‘अहिले नै सबै विषयवस्तु टुंगिइसकेको छैन।’
माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ। अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ।
मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ।
राष्ट्रपति चुनावमा केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो।
सत्ता साझेदार माओवादी केन्द्रले गत १० चैतमा समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन्।