बिहीबार, वैशाख ३१, २०८३

माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने काम अस्वीकार्य : कोइराला

सरकारी कर्मचारीलाई तलब र सेवानिवृत्तहरुलाई पेन्सन दिन सकस भइरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको हैसियतामा पूर्वलडाकुलाई रकम बाँड्ने काम अस्वीकार्य हुने कांग्रेस नेता शेखरको चेतावनी।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं– सत्तारुढ गठबन्धनमा आबद्ध कांग्रेस नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रमा आबद्ध पूर्वलडाकुलाई पैसा बाँड्ने कार्य अस्वीकार्य रहेको बताएका छन्।

National life

माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने नेता कोइरालाले फेसबुकमार्फत जनाएका छन्।

कोइरालाले बिहीबार फेसबुकमा लेख्दै अयोग्य पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्ने आवश्यकता औंल्याए।

‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन’, उनले लेखेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पूर्वमाओवादी लडाकुलाई २–२ लाख वितरण गर्ने निर्णय केही महिनाअघि मन्त्रिपरिषद्बाट पारित गराइसकेका छन्। 

सत्ता बाहिर रहँदा पूर्वलडाकुलाई रकम बाँड्न नहुने बताउँदै आएको कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा पुगेपछि आफ्नो भागमा परेको अर्थ मन्त्रालयमार्फत पूर्वमाओवादी लडाकुलाई  २–२ लाख रुपैयाँ बुझाउन १ अर्ब ४० लाख छुट्याएको छ।

सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने नेता कोइरालाले उल्लेख गरेका छन्।
 

प्रकाशित: Apr 27, 2023| 11:19 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्