काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा विजयी भएका तीन जनालाई उनले आज फेसबुकमार्फत बधाई दिएका हुन्।
उनले भनेका छन्, 'सम्मुनति र सुशासनका लागि संसद्को यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ।'
महामन्त्री थापाले थप लेखेका छन्, उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन्। पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनुभएको छ। राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्छु।
अहिले नेपाली कांग्रेसको सबै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै हाम्रो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी हो। पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यपूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।
विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणका लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु। निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहनाअनुरूप अपेक्षित परिणाम आइसकेको छैन प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरूले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु।
आम जनता र पार्टीका साथीहरूको गुनासो, सुझाव र खबरदारीले मलाई सदाझैं ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षाअनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रिँन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु।
यही क्रममा पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। र, त्यो रूपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।
पार्टी रूपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ। हामीलाई अलमलिने न छुट छ न त समय नै। यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाउँमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ।
पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं। र, जननायक बिपी कोइरालाको परिकल्पना अनुरूपको 'समुन्नत नेपाल सम्मानित नेपाली' को हाम्रो संकल्प पूरा गर्नेछौं। जय नेपाल!'